अब बैंकका कर्मचारीले 'ओभर टाइम' पाउने, नदिए कारवाही

Advertisement

काठमाडौं । अब बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले ओभर टाइम सुबिधा पाउने भएका छन् । श्रम ऐनले व्यवस्था गरेर अनुसार दैनिक ८ घण्टा भन्दा बढी समय काम गरे वापत बैंकका कर्मचारीहरुलाई ओभर टाइमको सुबिधा दिन लागिएको हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक तयारी गरिसकेको छ ।

राष्ट्र बैंकले निर्देशन नै जारी गरेर ८ घण्टा भन्दा बढी काम गर्ने कर्मचारीहरुलाई अतिरक्त तलब/भक्ता दिनुपर्ने व्यवस्था ल्याउन लागेको हो । ‘बैंकहरुले ओभर टाइम काम लगाएर पनि पारिश्रमिक नदिएको गुनासा आईरहेका छन्, हामी नजिकबाट नियाली रहेका छौं, अब निर्देशन नै दिएर अतिरिक्त काम वापत अतिरिक्त सुबिधा देऊ भन्ने समय आईकेछ’, राष्ट्र बैंक उच्च श्रोतले भन्यो ।

श्रोतका अनुसार दैनिक एक घण्टा भन्दा बढी समय अतिरिक्त काम लगाएमा बैंकहरुले ओभर टाइम सुबिधा दिनुपर्ने व्यवस्था ल्याउनेबारे छलफल भैरहेको छ । कुन बैंकले कुन कर्मचारीलाई कति समय बढी काम लगायो भन्ने तथ्यांक लिने प्रणालीबारे पनि राष्ट्र बैंकमा छलफल भैरहेको छ ।

त्यसका लागि राष्ट्र बैंकले कर्मचारीको इन्ट्री हाजिरी र एक्जिट हाजिरीको सूचना लिन सक्नेछ । कुन कर्मचारी कति बजे कार्यालय हाजिर भयो र कति बजे बाहिरियो भन्ने विवरण हेरेर राष्ट्र बैंकले अनुगमन पनि गर्नेछ ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीहरुलाई ८ घण्टा भन्दा धेरै अवधी काम लगाएको गुनासो राष्ट्रमा परिरहेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि ओभर टाइम काम लगाउने बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीलाई सोही अनुसारको सुबिधा दिनुपर्ने बताए । ‘केहि बैंकहरुले ओभर टाइम काम लगाउँदा अतिरिक्त सुबिधा अहिले पनि दिईरहेका छन्, नदिनेहरुलाई उचित निर्देशन दिन राष्ट्र बैंक तयार हुनेछ ।’,, राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले भने ।

Advertisement

Advertisement

Advertisement