इप्पानले सम्झियो शैलजा आचार्यलाई, निजी क्षेत्रमैत्री जलस्रोतमन्त्रीको रुपमा सम्मान

Advertisement

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं पूर्वजलस्रोतमन्त्री शैलजा आचार्यलाई निजी उर्जा उत्पादकहरुको संस्था इप्पानले सम्मान गरेको छ । निजी क्षेत्रले पनि जलविद्युत आयोजना बनाउन सक्छन् भनेर पहिलो पटक नीति बनाउने मन्त्रीको रुपमा आचार्यलाई इप्पानले सम्मान गरेको हो ।

इप्पानको शुक्रबार सम्पन्न १८औं बार्षिक साधारणसभामा उर्जा ज्योति इप्पान अवार्डबाट आचार्यलाई सम्मान गरिएको हो । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले शैलजा आचार्य आदर्श समाजकी अध्यक्षलाई एक लाख रुपियाँ राशीको उक्त अवार्ड प्रदान गरे ।

इप्पानले यो पुरस्कार पहिलो पटक दिन सुरु गरेको हो । जलविद्युत क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिने जनाइएको छ । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नी स्वर्गीय छोरीको सम्झनामा १० लाख रुपियाँको अक्षय कोष खडा गरी यो पुरस्कार स्थापना गरेका हुन् ।

काँग्रेसले स्वर्गीय शैलजा आचार्यको योगदानलाई उपेक्षा गरेको गुनासो काँग्रेसीजनले गर्दै आएको बेला इप्पानले उनलाई सम्मान गरेर योगदानको कदर गरेको हो । कार्यक्रममा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी मुलुकमा अन्धकार हटाउन सहयोग गर्दै आएका ३८ वटा जलविद्युत कम्पनीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष गुरागाईले घर र सडकमा मात्रै नभएर उद्योग खोल्न पनि पहिला बिजुली नभई हुँदैन भन्दै अब नेपालाई धनी बनाउन जलविद्युत प्रवद्र्धकहरुले नेतृत्व गर्नुपर्ने बताए । सभामा सहभागी प्रवद्र्धकहरुले आफूहरुले भोग्दै आएको समस्याहरु राखेका थिए ।

Advertisement

Advertisement

Advertisement