महालक्ष्मीले कारोबार शुरु गरेको १ वर्ष पुग्यो, 'प्रथम बीमा शुल्क संकलनमा अर्ब क्लवमा पुग्ने लक्ष्य'

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार प्रारम्भ गरेको सोमबार एक वर्ष पूरा भएको छ ।

नेपालको बीमा बजारमा चालीसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो । कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा/उपशाखा संचालन गरिसकेको जनाएको छ । त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु कम्पनीमा कार्यरत रहेका छन् ।

९ वटा बीमा पोलिसी प्रचलनमा
कम्पनीले १ वर्षको अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको जनाएको छ । कारोबार प्रारम्भको १ वर्षको अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

कति कमायो नाफा ?
कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पुस मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ ।

कम्पनीले आव २०७६/७७ को अन्त सम्ममा थप २५ वटा शाखा/उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको कम्पनीका सीईओ रमेशकुमार भट्टराईले जनाएका छन् । वार्षिकोत्सबको अवसर पारेर कम्पनीले रु ५० लाखसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको सीईओ भट्टराईले बताए ।

Advertisement

Advertisement

Advertisement