गैरकानुनीरुपमा ११ अर्ब विदेशी लगानी भित्रियोः अध्ययन

Advertisement

काठमाडौँ । गैरकानुनी रूपमा हालसम्म ११ अर्ब रुपियाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानुनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर विदेशी लगानी (एफडीआई) ल्याइएको भेट्टाएको हो ।

यो रकम हालको विनिमय दरअनुसार ११ अर्ब २३ करोड ९४ लाख १३ हजार ७ सय रुपियाँ हुन आउँछ ।

‘खासमा हामीले उद्योग विभागबाट विदेशी लगानी स्वीकृति हुनुपूर्वको प्रत्यक्ष विदेशी लगानीको विवरण माग्दै सूचना जारी गरेका थियौं,’ अध्ययन कार्यमा संलग्न एक अधिकारीले भने, ‘तर, स्रोत नखुलेको र उद्योगमा विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको विकास भएपछि पनि गैरकानुनी रूपमा लगानी ल्याइएका निवेदन प्राप्त भएका छन् ।’

स्रोत नखुलेको त्यस्तो रकम सबैभन्दा बढी नेपालमा भित्र्याउनेमा व्यवसायी अजेयराज सुमार्गी रहेको ती अधिकारीले बताए । सुमार्गीले कानुनी प्रक्रिया पूरा नगरी ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुकबाट नेपालस्थित सरकारी निकायसँग अनुमति नलिई लगानी भित्र्याएको भन्दै अध्ययन समितिमा निवेदन पेस गरेका छन् । ‘करिब १० अर्ब रुपियाँ उनकै हो,’ ती अधिकारीले भने, ‘बाँकी करिब एक अर्ब रुपियाँ अन्य २६ कम्पनीको हो । उनीहरूले पनि कानुनी प्रक्रिया पूरा गरेको देखिँदैन ।’

विदेशी लगानी स्वीकृतिको कानुनी र संस्थागत संरचना बन्नुपूर्वको समयमा भित्रिएको लगानी संकलन गर्ने र त्यसको लेखांकन गर्ने मनसायले अध्ययन गर्न समितिलाई जिम्मा दिइएको थियो । गत कात्तिक १६ मा उद्योगमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड बैठकले समितिलाई जिम्मा दिएको हो । तर सुमार्गीसहितका अन्य स्रोत नखुलेका निवेदन परेपछि यस विषयमा के गर्ने भन्ने बोर्डलाई अप्ठ्यारो परेको छ । ‘कानुन बनिसकेपछि त्यसमाथि स्रोत नखुलाई ल्याइएको लगानीका विषयमा बोर्डले निर्णय गर्दैन, किनकि त्यस्ता लगानी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ,’ ती अधिकारीले भने, ‘त्यसमध्येको सबैभन्दा ठूलो सुमार्गीको लगानीसमेत निवेदनका रूपमा आएपछि बोर्ड बैठकमा एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे अन्योल भएको छ ।’

आगामी बोर्ड बैठकमा उक्त गैरकानुनी लगानीको संकलित विवरण पेस गर्ने तयारीमा उद्योग विभाग र राष्ट्र बैंकका अधिकारी छन् । कानुनी एवं संस्थागत संरचना बन्नुअघि भित्रिएको विदेशी लगानीको संख्या र रकम दुवै निकै कम छ । ‘उनीहरूले नेपालमा यति विदेशी लगानी गरेका छन् भन्ने लेखांकन भने गर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘तर सुमार्गी र उनकै जस्तो प्रकृतिको लेखांकन गरे समस्या हुनेछ ।’

सम्पत्ति शुद्धीकरणको विस्तृत छानबिनमा परेका सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका हुन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement