कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म मृतकको संख्या १ हजार १७ पुग्यो

Advertisement

पेचिङ । चीनमा फैलिएको कोरोना भाइरसका कारण सोमबार मात्रै १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरबाट संक्रमण शुरु भएयता सर्वसाधारणको मृत्यु भएकामध्ये सोमवारको सबैभन्दा ठूलो संख्या हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मंगलवार विहानसम्म १ हजार १७ जनाको मृत्यु भएको छ ।

आइतवार ९७ जनाको मृत्यु भएकोमा सोमवार मृत्यु हुनेको संख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सोमवार मृत्यु भएकामध्ये १०३ जना हुपेई प्रान्तका संक्रमित रहेका थिए । चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार पुगेको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्ह्वाले वेबसाइटमा उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट मर्नेको संख्या नरोकिएपछि थप प्रभावकारी कदम चाल्न चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमवार त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट दैनिक रुपमा मर्नेको संख्या बढिरहेको छ । सोमवार एकै दिनमा त्यहाँ १०८ जनाको मृत्यु भएबाट नै यसको पुष्टि हुन्छ ।

एजेन्सीहरुका अनुसार भाइरस कम्तिमा पनि २७ देश र क्षेत्रमा फैलिएको छ । ती देशमा ३३० भन्दा बढी संक्रमित छन् भने चीनबाहिर भाइरसका कारण मर्नेको संख्या हालसम्म दुई पुगेको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसले दैनिक गतिविधि प्रभावित भएको छ भने त्यहाँका झण्डै एक दर्जन शहर बन्द अवस्थामा छन् । चीनका राष्ट्रपति सी जिन्पिङले सोमवार बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई भेटेका छन् ।

उनले स्वास्थ्यकर्मीलाई भेटेर आत्मविश्वास बढाएर काम गर्न निर्देशन दिएका छन् । यसअघि पार्टीको पोलिट्ब्युरोलाई पनि अहिलेको मुख्य काम प्रकोप नियन्त्रण भएको र यसको निराकरणका लागि पनि चीनले नै मुख्य भूमिका निभाउनु पर्ने बताएका थिए ।

तर चीनले प्रकोप नियन्त्रणका लागि परिचालित पार्टी सचिवलाई हिनामिना गरेको आरोपमा कारबाही गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन् । उनीसँगै उक्त आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पनि पदमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement