काँग्रेसले अब गच्छदारका लागि संसद अवरोध नगर्ने, बरु संसदमै सरकारको भ्रष्टाचारविरुद्ध लड्ने

Advertisement

काठमाडौँ । चौतर्फी आलोचनापछि आफ्ना नेता विजय गच्छदारविरुद्ध परेको मुद्दाको विषयलाई लिएर संसद अवरोध नगर्ने निर्णयमा काँग्रेस पुगेको छ । सो पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्‍ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने निर्णय गरेको हो ।

काँग्रेसका एक नेता बालकृष्ण खाँडले आफ्नो पार्टीले संसद चल्न दिने निर्णय गरेको बताए । साथै, काँग्रेसले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छाया बनेको ठहर गदैै यस विरुद्ध कांग्रेस कानुनी र राजनीतिक रुपमा लड्ने निर्णयमा पुगेको छ । काँग्रेसले सरकारी पक्षबाट
भएका अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे कांग्रेस सांसदहरुले सदनमा कुरा उठाउने तयारी पनि गरेको छ ।

यसअघि काँग्रेसले आफ्ना पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै सदन अवरोध गर्दै आएको थियो ।

अख्तियारले गत बुधबार ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अलालतमा मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा निर्णय लिने तत्कालीन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणि पौडेल, नेकपाका महासचिव बिष्णु पौडेललाई जोगाएर सिफारिस गर्ने मन्त्रीका हैसियतमा गच्छदारलाई मात्रै फसाइएको आरोप कांग्रेसका नेताहरुको रहेको छ ।

Advertisement

Advertisement

Advertisement