‘नेपाल इकोनोमिक्स ओलम्पियड’को राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि

Advertisement

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियड (एनईओ) २०२० को राष्ट्रिय प्रतिस्पर्धा शुक्रवारदेखि शुरु हुने भएको छ । युवा अर्थशास्त्रीहरुको संस्था योङ इकोनोमिष्ट सोसाईटीले आयोजना गरेको यस प्रतिस्पर्धाले अर्थशास्त्र, वित्त र व्यवासयमा प्रतिभाशाली विद्यार्थीको खोजि गर्ने जनाइएको छ ।

उत्कृष्ट पाँच प्रतिस्पर्धी विद्यार्थीले काजकिस्तानमा आगामी जुलाईमा हुने ‘इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ) २०२०’ का लागि नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

इन्टरनेश्नल इकोनोमिक्स ओलम्पियड २०१९ मा दीपशिखा श्रेष्ठले नेपालका लागि कांश्य पदक जितेकी थिईन् । सन् २०२० को इन्टरनेशनल ओलप्मियडमा स्वर्ण पदक जित्ने लक्ष्यसहित योङ इकोनोमिष्ट सोसाईटीले ‘नेपाल ओलम्पियड २०२०’ आयोजना गरिरहेको सोसाईटीका अध्यक्ष अभिषेक पाण्डेले बताए ।

नेपाल इकोनोमिक्स ओलम्पियड २०२० का लागि क्षेत्रीय छनौट कार्यक्रम काठमाडौं, इटहरी, वीरगञ्ज, भारतपुर, बुटवल र पोखरामा आयोजना गरिएको थियो । गत १ फेब्रअरीमा आयोजित प्रतिस्पर्धामा २५० जना सहभागी रहेका थिए । क्षेत्रीय छनौटकै अवसरमा करीब छ सय विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रमसमेत गरिएको थियो । राष्ट्रिय प्रतिस्पर्धाका लागि ६० जना विद्यार्थी छनौट भएको उनले जानकारी दिए ।

यूलेन्स स्कुल काठमाडौंमा हुने तीन दिने राष्ट्रिय छनौट प्रतिस्पर्धाकै क्रममा तालिम, मन्त्वय, अनुभव साटासाट, अन्तरक्रियालगायत कार्यक्रम समेत गरिने छ । उत्कृष्ट पाँच जना विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गर्दै इन्टरनेश्नल इकोनोमिक्स ओलम्पियड २०२० मा सहभागी हुन पाउने छन् । आगामी जुन २१ देखि ३० सम्म काजकिस्तानको नुर सुल्तानमा इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड २०२० आयोजना हुने तय भएको छ ।

योङ इकोनोमिष्ट सोसाईटीले वार्षिकरुपमा नेपाल इकोनोमिक्स ओलम्पियड कार्यक्रम गर्दै आएको छ । इन्टरनेश्नल इकोनोमिक्स ओलम्पियड (आईईओ)ले नियुक्ती गरेको संस्था योङ इकोनोमिष्ट सोसाईटी हो ।

Advertisement

Advertisement

Advertisement