धौवादीको फलाम झिक्ने जिम्मा डा. सोमनाथ सापकोटालाई, आइपीओ पनि आउने

,   २८ माघ २०७६, मंगलवार, ०८:५२ pm   

काठमाडौं । नवलपुरको धौवादीमा रहेको फलाम खानीबाट फलाम झिक्ने र प्रशोधन गर्ने जिम्मा डा. सोमनाथ सापकोटाले प्राप्त गरेका छन् । खानी तथा भूगर्भ विभागका महानिर्देशक समेत रहेका डा. सापकोटाले अब धौवादी फलाम कम्पनीको प्रमुखको जिम्मेवारी समेत सम्हाल्दैछन् ।

विभागको महानिर्देशक रहँदा अर्काे व्यवस्था नभएसम्मका लागि कम्पनीको नेतृत्व गरिरहेका सापकोटालाई अब पूर्णकालिन जिम्मेवारी दिन लागिएको हो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय उच्च श्रोतका अनुसार सापकोटाले फागुन ५ गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्दैछन् ।

सरकारले धौवादीको खानीबाट फलाम झिकेर प्रशोधन गर्ने प्रयोजनका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजीको धौवादी फलाम कम्पनी खडा गरेको थियो ।

aecc

फलाम कम्पनीमा केन्द्र सरकारका बिभिन्न मन्त्रालय र निकायहरुको ५० प्रतिशत लगानी रहेको छ । त्यस्तै, गण्डकी प्रदेश सरकारको ३ प्रतिशत र स्थानीय तहको २ प्रतिशत लगानी रहेको छ ।

४५ प्रतिशत भने निजी क्षेत्रलाई आइपीओका माध्यमबाट लगानी गराउने योजना सरकारको छ । अहिले केन्द्र सरकारका मन्त्रालय र निकायहरुले २ अर्ब २० करोड लगानी गरिसकेका छन् । त्यस्तै, निज क्षेत्रका बिभिन्न घरानाहरुले १८ करोड लगानी गरेका छन् ।

गण्डकी प्रदेशले आफ्नो हिस्साको पैसा लगानी गरिसकेको जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको लगानी १५ प्रतिशत हुनुपर्ने माग राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमै राखेका छन् ।

धौवादी फलाम कम्पनी नामको कम्पनी रजिष्ट्रारको कार्यालयमा २२५८३६ दर्ता नम्बरमा दर्ता रहेको छ ।  धौवादी फलाम खानीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाई क्षेत्रमा खानी फैलिएको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । यद्यपी खानीको आर्थिक सम्भाव्यता अध्ययन भने भएको छैन् ।

आर्थिक सम्भाव्यता नगरि कम्पनी खडा गरेको भन्दै सरकारको आलोचना पनि भैरहेको छ ।
यद्यपी खानीबाट नमुना लगेर चीनमा ल्याब परिक्षण गरिसकिएको छ । फलाम रहेको पुष्टि भएको थियो ।

आर्थिक सम्भाव्यता नगरि कम्पनी खडा गरेर ठूलो धनरासी खर्च गर्न लागेर सरकारले ठूलो जोखिम मोल्न खोजेको टिप्पणी पनि भैरहेको छ ।