निर्माणाधिन ‘फाष्ट ट्राक’सहित सबै राजमार्गहरु कंक्रिटबाट बनाउन पहल सुरु

Advertisement

काठमाडौं । निर्माणाधिन काठमाडौं–निजगढ द्रुतमार्गसहित अब बन्ने सबै राजमार्गहरु कंक्रिटबाट निर्माण गर्न पहल सुरु भएको छ । सिमेन्ट उत्पादक र सडक विभागले दिगो सडक निर्माणका साथै स्वदेशी उत्पादनको अधिकतम् प्रयोगका लागि कम्तिमा राष्ट्रियस्तरका सबै राजमार्गहरु कंक्रिटबाट बनाउन संयुक्त छलफल अघि बढाएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघ र सडक विभागले बुधबार संयुक्तरुपमा कार्यक्रम गरी कंक्रिटबाट सडक निर्माण गर्दाका फाइदा र चुनौतिहरुबारे छलफल गर्यो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङ, उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड पनि सहभागी थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सडक पूर्वाधार विकासका लागि सडक विभाग र संघले संयुक्तरुपमा साधारण अवधारणा बनाएर सबै सरोकारवालालाई दिन सुझाव दिँदै स्तरीय सडक निर्माण र नेपाली उद्योगको प्रोत्साहनका लागि कर, कच्चा पदार्थ, बजारका लागि के कस्तो सहयोग गर्नुपर्ने हो ? त्यसका लागि सरकार तयार रहेको बताए ।

उद्योग राज्यमन्त्री दुगडले मुल्य अभिवृद्धि हुने स्वदेशी उद्योगहरुलाई सरकारलाई विशेष प्रोत्साहन गर्नु जरुरी रहेको बताउँदै लगानीकतालाई ज्वाईंको रुपमा सरकारले व्यवहार गर्नुपर्ने बताए ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा र उपाध्यक्ष डा. तारा पोखरेलले नेपाली सिमेन्ट उद्योगहरु अन्तर्राष्ट्रियस्तरको सिमेन्ट उत्पादन गर्न सक्षम रहेको बताउँदै कंक्रिटको सडक बनाउँदा सुरुमा अलिकति बढि खर्च लागे पनि सय बर्षसम्म बढि टिकाउने हुने बताए ।

उनीहरुले संवृद्ध नेपाल निर्माणका लागि आर्थिक विकास जरुरी रहेको, आर्थिक विकासका लागि पूर्वाधार विकास जरुरी रहेको र पूर्वाधार विकासका लागि सडक विकास जरुरी रहेको भन्दै कंक्रिटबाट सडक बनाउँदा आयात प्रतिस्थापन हुने, विटुमिन (अलकत्रा)का कारण बाताबरणमा पर्ने प्रभाव पनि कम हुने, मर्मतका नाममा हुने राज्यको ठूलो खर्च बचत हुने, नेपालका सिमेन्ट तथा छट उद्योगहरु फस्टाउने जस्ता लाभ हुने बताए ।

Advertisement

Advertisement

Advertisement