सरकारका प्रवक्ताको तर्क– मलाई मात्रै कति लखेट्या ? बरु चौधरी ग्रुपलाई खेद्नुस्

Advertisement

काठमाडौं । सरकारको प्रवक्तासमेत रहेको सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले चौधरी ग्रुपलाई दूरसञ्चार सेवाको एकीकृत लाइसेन्स नदिएको विषयमा आफूलाई मात्रै लेखेट्ने काम भएको भन्दै बरु चौधरी ग्रुपलाई लखेट्न सल्लाह दिएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार भेटघाटका क्रममा बिहीबार उनले सरकारले पूर्वाग्रह राखेर चौधरी ग्रुपलाई लाइसेन्स नदिएको दावी गर्दै तर चौधरी ग्रुपले उल्टोपाल्टो कुरा गरेको आरोप लगाए । मन्त्री बास्कोटाले यसअघिको पत्रकार सम्मेलनमा २० अर्ब रुपियाँ तिरे चौधरी ग्रुपको सिजी कम्युनिकेशनलाई एकीकृत लाइसेन्स दिन सकिने बताएका थिए ।

चौधरी ग्रुपले आफूहरुले सबै प्रक्रिया पूरा गर्दा र अन्य कम्पनीले जस्तो रकमसमेत बक्यौता नराखी नियमानुसार काम गर्दा सरकारले पूर्वाग्रह राखेर आफूहरुलाई दूरसञ्चार सेवाको लाइसेन्स दिन आनाकानी गर्दै आएको बताएको छ । उसले आफूहरुलाई लाइसेन्स दिए भ्वाइस कल निःशुल्क गर्ने तथा डेटा सेवा आधै सस्तो गर्ने बताउँदै आएको छ ।

मन्त्री बास्कोटाले भने चौधरी ग्रुपले आफ्नो फाइदा मात्रै हेरेको र राष्ट्र तथा जनताप्रतिको उत्तरदायित्व निर्वाह नगरेको आरोप लगाए । उनले भने– मैले नीतिको कुरा गर्ने हो । नियमअनुसार आउने हो भने लाइसेन्स दिन सरकार तयार छ ।

आफूले कुनै गल्ती नगरेकाले माग माग्नुपर्ने जरुरी नरहेको बताउँदै उनले चौधरी ग्रुपका सञ्चालकहरुलाई बर्बराउँदै नहिँड्न सल्लाह दिए । लगानीको बाताबरण बनाउन सरकार तयार रहेको बताउँदै उनले तर लगानीकर्ता पनि इमान्दार हुनुपर्ने तर्क गरे । बास्कोटाले चौधरी ग्रुपलाई विश्व बैंकको अनुदान सहयोगमा विपत प्रभावित ४१ जिल्लामा दूरसञ्चार सेवाको काम गर्न दिँदा इमान्दारितापूर्वक काम नगरेको, उपकरणहरु हिनामिना गरेको जस्ता आरोप लगाउँदै अरु लगानीकर्ताले जोखिम मोलेर लगानी गर्नुपर्ने तर चौधरी ग्रुपले अनुदानमा काम गर्दा पनि इमान्दारिता नदेखाएको आरोप लगाए ।

एक हजार ६८ वटा पीसीओहरु स्थापना गर्न त्यतिबेला दिएकोमा काम नगरेको आरोप लगाउँदै प्रवक्ता बास्कोटाले आफूले गर्नुपर्ने काम नगरी ढोका हुँदाहुँदै झ्यालबाट छिरेर चौधरी ग्रुप आएको बताए । चौधरी ग्रुपसँग जुहारी खेल्ने पक्षमा नरहेको बताइरहेका उनले जुहारीकै शैलीमा चौधरी ग्रुपका आरोपहरुको खण्डन गरेका थिए ।

सिजी आउननुअघि उहाँहरुको माउ के थियो ? जन्मेको ठाउँ के हो ? त्यो एसटीएम हो ? भन्दै बास्कोटाले विभिन्न जिल्लामा दूरसञ्चार सेवा दिन अर्कै कम्पनीलाई चौधरी ग्रुपले किनेर इतिहास सुनाए । सरकारले विश्व बैंकसँग लिएको ऋणको रुपमा लिएको एक करोड १८ लाख डलरभन्दा बढि डलर ५४१ गाविसमा दूरसञ्चार सेवाको पूर्वाधार तयारीका लागि अनुदानमा चौधरी ग्रुपलाई दिए पनि त्यसको सही सदुपयोग नगरिएको उनको भनाई छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी यसअघि तत्कालिन एमाले पार्टीनिकट रहे पनि पछिल्लो समयमा काँग्रेसतर्फ लागेपछि सत्तारुढ दलका नेता र सरकार सञ्चालकहरु चौधरीप्रति रुष्ट रहेका छन् ।

Advertisement

Advertisement

Advertisement