'बाथरुम' जोखिमपूर्ण बन्दै, कसरी जोगिने ?

Advertisement

काठमाडौ । बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सिन्नन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई ।

अधिकारी भन्छिन्, “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन ।”

धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो ।

राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले थपिन, “त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु ।”

बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थालेका छन् । उनी भन्छन्, “हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ ।”

चिकित्सक डा. मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउँछन् । चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उनले भने, “ढोका पूर्णरूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ ।”

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताउँछन् । झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने भन्दै उनले थपे, “बाथरुम अँध्यारो हुनु, साबुन र सेम्पुको चिप्लो रहनु, बाथरुममा पानी चिसो हुनुु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राति ब्यूँझिएर अर्धहोशमै बाथरुम जानु जस्ता कारणले दुर्घटना बढिरहेको छ ।”

“बाथरुममा लड्दा अपाङ्गता भई मृत्युसमेत हुनसक्छ”, हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारे बताउँछन् । उनले बाथरुममा लड्दा जुन अङ्गमा ठोकिन्छ, त्यही अङ्ग र सँगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हातखुट्टा भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, भित्री अङ्गमा चोट पुग्ने, गर्भवतीको गर्भपतन हुनेलगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नुपर्ने जानकारी दिए ।

त्यसैले बाथरुम सफा राखी कारणवश लडेमा कम क्षति हुने प्रकारले बनाउनुपर्छ । खस्रो सोल भएको चप्पल प्रयोग गर्नु राम्रो हुने जानकारी दिँदै डा. द्वारेले बाथरुममा प्रकाशको पर्याप्त व्यवस्था गर्नुपर्छ भने ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement