कोरोना भाइरसले चिनियाँ अर्थतन्त्र चौपट हुने संकेत, विश्व अर्थतन्त्रमा पनि असर

Advertisement

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ। वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ। वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ।

चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला)मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ। वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन्।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन। ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ। चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ। त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए।

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ। विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ।

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ। औषधिदेखि ग्याजेटसम्मको पार्टस्का लागि उत्पादकहरू चीनमा निर्भर छन्। चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ। चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ।

कोरोना भाइरसको उद्गम चीनको अर्थतन्त्र भने यसपटक नराम्ररी प्रभावित हुने निश्चित छ। अघिल्लो वर्ष नै चिनियाँ अर्थतन्त्र तीन दशकयताकै न्यून दरमा विस्तार भयो। सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो। चीन र अमेरिका व्यापार युद्धका कारण चिनियाँ अर्थतन्त्र सन् २०१९ मा तीन दशकयताकै सुस्त रह्यो।

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन सन् २०१८ देखि सुरु भएको द्विपक्षीय व्यापारको मलोमालिन्य अन्त्य गर्दै २०२० को आरम्भमा व्यापार युद्धलाई आंशिक रूपमा सच्याउन सफल भएका थिए। चीन र अमेरिकाका उत्पादन उद्योगहरूको आपूर्ति प्रणालीमा आबद्ध अन्य देशबाट कच्चा वस्तु र पार्टस् निर्यात वृद्धि भई विश्व अर्थतन्त्रले लाभ हासिल गर्ने अपेक्षा गरिएका बेला घातक महामाहारी फैलियो। जसले विश्व अर्थतन्त्रमा थप अनिश्चय पैदा भएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेपछि तेल उत्पादकले उत्पादन कटौती गरेका छन्। महामारी फैलिएलगत्तै चीनका विभिन्न सहरमा हुने उडान र त्यहाँ ट्रान्जिट बनाएका विश्वका धेरै हवाई कम्पनीले उडान रद्द गरेका थिए। जसले धेरै देशको पर्यटन उद्योगलाई प्रभावित बनाएको छ।

एक अर्ब ३८ करोड ६० लाख जनसंख्या भएको चीनको आर्थिक उदयसँगै विश्वमा धेरै भ्रमण गर्नेमा पनि चिनियाँ नै छन्। सन् २०१८ मा १६ करोड २० लाख चिनियाँले बाह्य मुलुकमा भ्रमण गरेका थिए। यो संख्या सन् २०१९ मा १८ करोड पुगेको थियो। पर्यटनमा केन्द्रित विश्वका धेरै मुलुकले चिनियाँ पर्यटक तान्ने ध्याउन्नमा लागेका देखिन्थे। तर नोभेल कोरोना भाइरसको महामारी बढेसँगै चिनियाँ पर्यटकको संख्या उल्लेख्य कमी आएको छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement