प्रधानमन्त्रीको उत्तर– नेपालको नक्सा किन चाहियो ? भूमि नै फिर्ता ल्याउँला नि

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भारतले मिचेको नेपालको भूमि फिर्ता ल्याउने तयारीमा सरकार लागेको बताएका छन् । सरकार गठन भएको दुई बर्षको अवसरमा शनिबार प्रतिनिधिसभाको बैठकमा शनिबार विशेष सम्बोधन गर्दै ओलीले भने, ‘भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्ने कुरा त के भयो र, एकछिनमै छापिहालिन्छ ।’

ओलीलाई कांग्रेस सांसद दिलेन्द्र बडूले भारतले सीमा मिचेको विषयमा प्रश्न सोध्दै नेपालको नक्सा कहिले छापिन्छ ? भनी प्रश्न गरेका थिए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले मिचेको विषयमा प्रश्न सोधेका थिए । बडुले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनेबारे भारत सरकारसँग कहिले वार्ता हुन्छ ? भन्दै प्रश्न राखेका थिए ।

प्रतिउत्तरमा ओलीले भारतसँग कूटनीतिक तवरबाट यस समस्याको समाधान खोज्ने तयारी भइरहेको बताउँदै नेपालको भूभाग नछोडिने बताए । तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको हो भन्दै उनले तर समस्या समाधानका लागि नेपालले मात्रै चाहेर नहुने, भारतले पनि चासो देखाउनुपर्ने तर्क गरे ।

साथै, ओलीले सीमा क्षेत्रमा सशस्त्र प्रहरी राख्ने तयारी भइरहेको पनि बताए । सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो ।

ओलीले अहिलेसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको दावीसमेत गरे । उनले पूर्वपश्चिम राजमार्गको चारदेखि छ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने पनि बताए ।

चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै ओलीले भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे । चीनबाट विद्यार्थी ल्याउनका लागि सरकार गम्भीर भएर लागिपरेको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement