धौवादीको खानीबाट ३० वर्षसम्म दैनिक ८०० टन फलाम निस्कन्छः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवलपुरको धौवादीमा रहेको खानीबाट ३० वर्षसम्म दैनिक ८०० टनका दरले फलाम निकाल्न सकिने बताएका छन् ।

आफु नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा उपलब्धि सार्वजनिक गर्दै उनले धौवादीको खानीबाट फलाम उत्खनन गर्न कम्पनी खडा गरिसकेको र ३० वर्षसम्म दैनिक ८०० टनका दरले फलाम निकाल्न सकिने बताएका हुन् ।

‘नवलपुरको धौवादीमा फलाम उत्खनन गर्न धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको छ । त्यहाँ भएको फलाम करिव ३० वर्ष प्रतिदिन करिव ८ सय टन फलाम उत्पादन हुने परिक्षणले देखिएको छ ।’, प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेका छन् ।

ओलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु भएको बताउँदै त्यसले पनि देशको अर्थतन्त्रमा युगान्तकारी परिवर्तन ल्याउने दावी पनि गरेका छन् ।

त्यस्तै, भारतको आन्तरिक जलमार्गको प्रयोग गरी समुन्द्रसम्म पुग्न नेपालको आफ्नै राष्ट्रिय ध्वजाबाहक पानीजहाज संचालन गर्नेगरी भारतसँग सहमति भइसकेको बिषयलाई पनि ओलीले आफ्नो प्रगतिको सूतिमा समावेश गराएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको अगुवाईमा नारायणी नदीमा क्रुज संचालनको सफल परीक्षण गरिएको विषय पनि ओलीको प्रगति सूचिमा अटाएको छ ।

आर्थिक सम्भाव्यता नगरि कम्पनी खडा गरेको भन्दै सरकारको आलोचना पनि भैरहेको छ । यद्यपी खानीबाट नमुना लगेर चीनमा ल्याब परिक्षण गरिसकिएको छ । फलाम रहेको पुष्टि भएको थियो । आर्थिक सम्भाव्यता नगरि कम्पनी खडा गरेर ठूलो धनरासी खर्च गर्न लागेर सरकारले ठूलो जोखिम मोल्न खोजेको टिप्पणी पनि भैरहेको छ ।

सरकारले धौवादीको खानीबाट फलाम झिकेर प्रशोधन गर्ने प्रयोजनका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजीको धौवादी फलाम कम्पनी खडा गरेको थियो ।

Advertisement

Advertisement

Advertisement