आफूहरुलाई वाइडबडी जहाजले उद्दार गरी काठमााडौं ल्याएपछि वुहानमा रहेका नेपालीहरु खुशी

Advertisement

काठमाडौँ । चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

नेपालीको उद्धारका लागि गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब १० बजे (नेपाली समय राति करिब ८ बजे) वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कोरोना भाइरस रोग २०१९ (कोभिड १९) को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जना ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन्। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

घर फर्कन पाएका विद्यार्थीका अभिभावकले राहतको सास फेरेका छन्। उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए। ‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के–कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन। देशमै फर्किएपछि जेसुकै होस्। १५–२० दिनको कुरा न हो,’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो। अब शान्त भयो।’

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement