सेयर बजारले लय समात्दै, आज पनि नेप्से १९ अंकले उचालियो, बीमाको सेयरमा उछाल

Advertisement

काठमाडौं । लामो समयदेखि लगातारजसो घट्दै आएको सेयर बजार पछिल्ला दिनमा लयमा फर्किएको छ । सेयर बजार परिसुचक नेप्से आज १९ दशमलव ३९ अंकले उचालिएर झण्डै एक हजार ३६४ कायम भएको छ ।

विशेषगरी बीमा कम्पनीहरुको सेयरमा उछाल आउँदा नेप्सेमा उत्साहजनक सुधार देखिएको हो । निर्जीवन बीमा समूहको सुचक छ दशमलव ६७ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक पाँच दशमलव २२ प्रतिशतले बढेको छ । उत्पादनमूलक र लघुवित्त समूहका सुचकहरुको वृद्धि दुई प्रतिशतभन्दा बढि छ ।

अधिकांश समूहका सुचकहरुमा सुुधार आउँदा पनि वित्त र म्युचुअल फण्डका सुचकहरुमा भने गिरावट देखिएको छ । आज राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर ८२५ रुपियाँले बढेको छ भने सोही कम्पनीको संस्थापक सेयर ६९० रुपियाँले बढेको छ । प्रतिशतका हिसावले उच्च वृद्धि भने रिदी जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।

आज सेयर बजारमा झण्डै दुई अर्बको सेयर कारोबार भयो । कुल एक अर्ब ९७ करोड रुपियाँको सेयर किनबेच भएकोमा हिमालयन डिष्ट्रिलरीको १८ करोडको कारोबार छ भने दोस्रोमा शिवम सिमेन्टको १३ करोडको सेयर कारोबार छ ।

Advertisement

Advertisement

Advertisement