मौद्रिक नीति अर्ध बार्षिक समिक्षाः आसै आसमा बैंकर, राष्ट्र बैंक आफ्नै अडानमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाको तयारी अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट नेतृत्वको समितिले अर्ध बार्षिक समिक्षाबाट के के बिषय संसोधन गर्ने, थप्ने वा घटाउने भन्ने बिषयमा गहन छलफललाई गरिरहेको छ ।

बैंकर, बैंकका अध्यक्ष, उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्श, अटो मोबाइल व्यवसायी लगायतले अर्थ बार्षिक समिक्षाका लागि राष्ट्र बैंकले आफ्ना माग पत्र लिखित र मौखिक दुबै रुपमा बुझाएका थिए ।

बाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले मुलतः प्रेड दर गणना बिधी, काउन्टर साइक्लिकल बफर र मासिक किस्ता प्रकृतिका ऋण दाताको आय गणना बिधी परिमार्जनको आशा गरेका छन् ।

अटो मोबाइल व्यवसायीले भने सवारी साधन कर्जाको असहजता हट्ने अपेक्षा राखेका छन् । सेयर बजारका लगानीकर्ताले सेयर कर्जा सहज हुने आशा गर्दा उद्योगी व्यवसायीले न्युन ब्याजदरमा ऋण पाउने आशा राखेका छन् ।

बैंकरदेखि उद्योगीसम्मका आशै आशाबीच के आउँदै छ त मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा ? नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट भन्छन्–‘हामी मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाको तयारीमा छौं, अहिले नै केहि भन्न मिल्दैन तर ‘राष्ट्र बैंक आफ्नो स्ट्याण्डमै’ रहन्छ ।’

डा. भट्टले मात्रै होइन, राष्ट्र बैंकका अरु कार्यकारी निर्देशकले पनि अर्ध बार्षिक समिक्षाबाट खासै परिमार्जनको अपेक्षा नराखे हुने आंकलन गरिरहेका छन् । ‘अर्थतन्त्रको दिगो विकास र सरकारले अघि सारेका उदेश्य पुरा गराउने हो, अहिले हामी ठिक ठाउँमा छौं भन्ने निष्कर्ष हो’, राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशकले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आफ्ना सबै माग पुरा हुने आशा व्यक्त गरे । ‘हामीले कुनै नाजायज माग राखेका छैनौं, हाम्रा सबै माग पुरा हुने अपेक्षा राखेका छौं तर अर्ध बार्षिक समिक्षा सार्वजनिक नभएसम्म ढुक्क हुने अवस्थामा छैनौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने । उनले मौद्रिक नीतिको विद्यमान व्यवस्था कायम रहेमा बैंक तथा वित्तिय संस्थाहरु ठूलै मारमा पर्ने दावी पनि गरे ।

‘अहिले नै रिटर्न अन इक्वीटी १५ मा झरेको छ, एक सय रुपैयाँ लगानी गर्दा १५ रुपैयाँ मात्रै नाफा छ, स्प्रेड दर र काउन्टर साइक्लिकल बफरको बिधी कार्यान्वयन गर्दा झनै घट्छ, अर्काे वर्ष त १०।११ मै आउँछ’, दाहालले भने ।

Advertisement

Advertisement

Advertisement