डिभिजन सडक कार्यालयका प्रमुख चौधरीलाई ४ करोडको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख सिडिई जितेन्द्रकुमार चौधरीले झण्डै ४ करोडको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर सहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक समेतमा जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दोषी देखिएपछि मुद्दा दर्ता गरिएको हो ।

चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी उनी र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समतेमा खर्च लगानी गरेको देखिंदा तीन करोड उनान्सय लाख चौवालीस हजार तीन सय बयालीस रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको प्रवक्ता कोइरालाले बताए ।

सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक चौधरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसुर गरेकोले निजलाई ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपियाँ बिगो दाबी बिगो बराबरको एकाघर श्रीमती र छोरा एवम् आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुल उपर÷जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिमको मागदाबी सहित आरोप पत्र दायर गरिएको आगोगले जनाएको छ ।

साथै बिगो जफत गर्ने प्रोजनार्थ श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सवइन्जिनियर (करार) प्रकाश तिवारी बिरुद्ध पनि सोमबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार तिवारीले भुकम्प पीडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले छ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

Advertisement

Advertisement

Advertisement