चीनमा फैलिएको कोरोना भाइरसले अमेरिकी एप्पललाई असर, नाफा ह्वात्तै घट्ने अनुमान

Advertisement

काठमाडौं । अमेरिकामा मुख्यालय भएको एप्पल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ। उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र ‘विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध’ हुने बताएको छ।

कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एप्पल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी हो। यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एप्पलको पूर्वानुमान थियो । तर उसले आफ्नो आय कति प्रभावित भएको छ ? भन्ने विवरण चाहिँ दिएको छैन।

‘मार्च त्रैमासिकका लागि निर्धारित आयको लक्ष्य पूरा हुने अपेक्षा हामी गर्दैनौं’, एप्पलले एउटा विज्ञप्तिमा भनेको छ । उसका अनुसार सामान्य स्थितिमा फर्किने गति पनि सुस्त छ।

अधिकांश पसल बन्द
चीनमा अवस्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एप्पलले जनाएको छ। आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुबे प्रान्तबाहिर अवस्थित भए पनि ती पुनः खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एप्पलको भनाइ छ।

‘चीनमा भएका हाम्रा सबै स्टोर र धेरै साझेदार स्टोरहरू बन्द छन्’, एप्पल भन्छ, ‘खुलेका स्टोर पनि कम समय सञ्चालन हुन्छन् र आउने ग्राहक पनि कम छन्।’ ‘हामी बिस्तारै आफ्ना विक्रीकक्ष खोलिरहेका छौँ र यथाशक्य निरन्तर तथा सुरक्षित रूपमा त्यसो गरिरहन्छौँ।’

बीबीसी नेपाली सेवाबाट ।

Advertisement

Advertisement

Advertisement