राष्ट्रिय बीमा संस्थानले आउने आर्थिक बर्षबाट अनलाइन सेवा सुरु गर्छः पाठक

Advertisement

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पछिल्लो समयमा आफूलाई रुपान्तरण गर्दै प्रतिस्पर्धात्मक ढंगले अघि बढ्दै छ । संस्थानको व्यवस्थापनको नेतृत्व कविप्रसाद पाठकले सम्हालेपछि नयाँ प्रविधिसँग अभ्यस्त कर्मचारी भर्ना गर्ने, नयाँ प्रविधि अपनाउने, शाखाहरुलाई आधुनिकीकरण र विस्तार गर्ने, समयानुकलका ‘प्रोडक्ट’हरु जारी गर्ने, तालिम र प्रोत्साहनसहित बीमा अभिकर्ताहरुको संख्या बढाउने जस्ता कामहरु भइरहेका छन् । तर, लामो समयदेखिको लेखापरीक्षण सम्पन्न गरी बार्षिक साधारणसभा सम्पन्न गर्न ढिलाई हुँदा संस्थानले गतिका साथ काम गर्न सकेको छैन् । संस्थानले आफ्नो ५३औं बार्षिकोत्सव बनाउने तयारी गरिरहँदा संस्थानका प्रशासक पाठकसँग गरिएको छोटो कुराकानीको सारः

बीमा संस्थानमा लेखा परीक्षणको पूरानो समस्या अझै कायम छ । यसलाई सल्टाउन के कति पहल भएको छ ?
आर्थिक बर्ष २०७३–७४ सम्मको लेखापरीक्षण सम्पन्न भएको छ । आव २०७४–७५ र २०७५–७६ को लेखापरीक्षण चाहीं गएको साउनमा महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई सञ्चालक समितिबाट लेखापरीक्षक नियुक्त भई दुई बर्षको लेखा परीक्षण गर्ने काम भइरहेको छ । हाम्रो तर्फबाट गर्नुपर्ने लेखा परीक्षणको काम चाँडै सकिए पनि मुल कुरा बीमा समितिबाट वित्तीय विवरणहरु स्वीकृत हुन बाँकी छ । त्यो नहुँदा साधारणसभाहरु गर्न केही ढिलाई भएको छ । वित्तीय विवरण स्वीकृत गर्न बीमाङ्कीय मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही मूल्यांकन लामो समयदेखि हुन नसक्दा वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएको हो ।

के समस्याले गर्दा ढिलाई भएको हो ?
पहिला संस्थानले नै समयमा विवरण पठाउन सकेनौं । त्यसले गर्दा ‘पेण्डिङ’ धेरै भयो । पछिल्लो दिनमा हामीले पठाउनुपर्ने विवरणहरु पठाइसकेको अवस्था छ । बीमा समितिले पनि आफ्नो एक्चुरीमा पठाएर अध्ययन गर्ने काम भइरहेको छ । बीमाङ्कीय मूल्यांकनको काम चाँडै गर्न समितिले पनि चासो देखाइदियोस् भन्ने हाम्रो अपेक्षा हो । संस्थानले पनि त्यसका लागि प्रयास गरिरहेको छ । मूल्यांकनको काम सकिएसँगै समितिलाई विवरण स्वीकृत गर्न बाटो खुल्छ भने संस्थानले साधारणसभा आह्वान गर्न बाटो खुल्छ ।

लेखा परीक्षण र साधारणसभाको समस्या एकातिर छँदैछ । संस्थानको आफ्नो वित्तीय अवस्था चाहीं कस्तो छ ?
वित्तीय अवस्था राम्रो छ । बीमा कोष अहिले वृद्धि भएको छ भने बार्षिक बीमा शुल्कको संकलन पनि राम्रो छ । यसले गर्दा हामीलाई बजारमा आफ्नो उपस्थिति बढाउन सजिलो भएको छ । अर्को कुरा हामीले शाखाहरु पनि विस्तार गरेका छौं । अहिलेसम्म १३ वटा शाखाहरु सञ्चालनमा आइसके । यसअघि आठवटा मात्रै शाखा थिए । ती पनि व्यवस्थितरुपमा सञ्चालन हुन्थेनन् । ती शाखाबाट पोलिसि पनि जारी हुन्थेन् । गएको साउनबाट बीमा लेखा जारी गर्न तालेका छौं । यही महिना जनकपुरमा पनि कार्यालय स्थापना गर्दैछौं । यो बर्षको अन्त्यसम्ममा २४ वटा शाखा कार्यालयहरु पुर्याउने कार्यक्रम छ । नयाँ कर्मचारीहरु नियुक्ति भएर आउने क्रममा छन् । उनीहरु आउनासाथै नयाँ कार्यालयहरु सञ्चालनमा ल्याउँछौं । बीमितको संख्या हेर्ने हो भने छ लाख ७९ हजार पुगिसकेको अवस्था छ भने छ अर्ब ५९ करोड बीमा शुल्क संकलन भइसकेको छ । त्यस्तै, साढे २६ अर्ब बीमा कोष भएको छ ।

बीमा संस्थानमा अभिकर्ताहरुको संख्या न्यून देखिन्छ । निजी कम्पनीहरुमा जस्तो उनीहरुको आकर्षण संस्थामान देखिन्न । हुन त तपाईंले बढाउन केही पहल गर्नुभएको देखिन्छ । तर, समस्या भने अझै पनि छ । किन ?
संस्थानको स्थापनाको अवधिलाई हेर्ने हो भने बीमा अधिकर्ताको संख्या निकै कम छ । त्यसको कारण जति तालिम दिनुपथ्र्यो, त्यो गर्न नसकेर उत्पादन बढाउन नसकेको सही हो । सँगसँगै बीमा अभिकर्ताको जति संस्थानले जति सुविधा दिएको थियो, त्यो भन्दा बढि निजी क्षेत्रका कम्पनीहरुले दिएकोले पनि पूराना अभिकर्ताहरु त्यता आकर्षित भएको पनि देखियो । पछिल्लो दिनमा आइसकेपछि हामीले तालिम र सुविधालाई सँगसँगै लिएर गइरहेका छौं । पहिला पहिला संस्थानले बर्षमा एक पटक तालिम गरेर ४०–५० जना मात्रै अभिकर्ता थप्थ्यो भने यो बर्ष मात्रै हामीले १४–१५ सय नयाँ अभिकर्ता थप्ने कार्ययोजना बनाएका छौं । हरेक शाखाबाट नियमितरुपमा अभिकर्ता तालिमहरु भइरहेको छ । र संख्या पनि बढिरहेको छ । अर्को कुरा अभिकर्ताको पेशा नै यही बनोस भनेर निजी कम्पनीहरुले जसरी सुविधाहरु दिएको छ, त्यहीअनुसार गएको साउनबाट सुविधाहरुको व्यवस्था गरेका छौं । अहिले बीमा अभिकर्ताहरु बीमा संस्थानतर्फ पनि आकर्षित हुन थालेको अवस्था छ । सुविधाका लागि कार्यविधिमा स्पष्ट व्यवस्था गरिएकाले पहिलाको जस्तो समस्या अब छैन् ।

नयाँ बार्षिकोत्सव मनाउँदै गर्दा नयाँ योजना अघि बढाउने, नयाँ ‘प्रोडक्ट’ ल्याउने जस्ता केही कुराहरु छन् कि ?
धेरै नयाँ कुराहरु यही आर्थिक बर्षमै हामीले सुरु गरिसकेका छौं । नयाँ सफ्टवयर सुरु गर्यौं । ‘एसएमएस अलर्ट’ सुरु गर्यौं । प्रिमियम जम्मा हुनासाथै हाम्रो ग्राहकहरुले त्यसको जानकारी पाउने अवस्था बनेको छ । बीमा संस्थानको बारेमा सबै जानकारी पाउनेगरी ‘मोवाइल एप’ पनि विकास गरेका छौं । त्यस्तै, हामीले सुरु गरेको अर्को कुरा, एडीबी भन्छन, पाँच लाख रुपियाँसम्मको मात्रै थियो, त्यसलाई बढाएर ५० लाख रुपियाँ पुर्याएका छौं । यो बर्ष हामीले गर्नसक्ने थप कुराहरु भनेको बीमा समितिबाट समयमै स्वीकृति प्राप्त भयो भने दुई वटा नयाँ प्रोडक्ट जारी गर्ने । अन्य बीमा कम्पनीहरुमा भइरहेको ‘क्रिटिकल इलनेश’को बीमा हाम्रोमा सुरु गर्न सकेको छैन् । समितिमा स्वीकृतिका लागि पठाएका छौं । त्यो स्वीकृत हुनासाथै सक्दो चाँडो सुरु गछौं । मैले समितिमा कुरा पनि गरेको थिएँ । चाँडै स्वीकृति भयो भने नयाँ बर्षमै ‘क्रिटिकल इलनेश’को बीमाको घोषणा गछौं । अरु दुई वटा प्रोडक्टहरु चाहीं डिजाइन गरेर हाम्रै यचुरीमा पठाएको अवस्था छ । उसले हामीलाई कस्टिङ दिएपछि स्वीकृतिका लागि बीमा समितिमा पठाउँछौं ।

तपाईंले अघि नयाँ प्रविधिबाट सेवा दिन थालेको बताउनुभयो । अनलाइनमार्फत सेवा दिने कुरामा पनि बीमा क्षेत्रमा आइरहेको छ । यसमा तपाईंको योजना के छ ?
अनलाइन अहिले नै सुरु गर्नसक्ने अवस्थामा हामी छौं । तर, के छ भने नयाँ सफ्टवेयरबाट सुरु गरेको भनेको नयाँ विजनेश मात्रै छ । पूरानो विजनेश पूरानै सफ्टवयरबाट गरिरहेका छौं । पहिला हामी पूरानो डाटालाई नयाँमा माइग्रेशन गछौं । यो काम असार मसान्तभित्र सक्ने योजनाका साथ लागेका छौं । अर्को बर्षबाट चाहीं अनलाइन सेवा सुरु गर्ने स्थिति होला भन्ने अनुमान छ । नयाँ सफ्टवयरमा अनलाइन सेवाको व्यवस्था गरिसककेका छौं । कार्यान्वयन अर्को आर्थिक बर्षबाट हुन्छ ।

बीमा संस्थान सरकारी संस्था हो । निजी क्षेत्रका कतिपय कम्पनी तपाईंहरु भन्दा निकै ढिलो आएर पनि जुन प्रगति गरेका छन्, त्यो प्रगति संस्थानको छैन् । पूरानो भएको हिसावले त बीमा संस्थानको झन बढि प्रगति र ठूलो बजार हुनुपर्ने थियो होइन र ?
पछाडि पर्नुको कारण चाहीं के हो भने पूराना कर्मचारी हो । पूरानो संस्था हो । पूरानो प्रविधि हो । जसरी नयाँ कर्मचारी भर्ना गरेर, नयाँ प्रविधि भित्राएर काम गर्नुपर्ने थियो, त्यो गर्न नसकेको सही हो । जसले गर्दा डस बेसको सफ्टवयर चलाएर बस्यौं । जसले गर्दा नेटवर्किङ गर्न सकिएन् । शाखामार्फत कारोबार गर्न शाखाहरु यो कार्यालयसँग जोडिएको थिएन् । छुट्टै सफ्टवयर राखेर शाखामा काम गर्नुपर्ने बाध्यता थियो । अहिलेका जनता वा ग्राहक के चाहान्छन् ? भने आफू जहाँ छ, त्यहींबाट सबै सुविधा प्राप्त गर्न सकियोस् । अर्को कुरा नयाँ प्रविधिसँग अभ्यस्त भएको जनशक्ति पनि भएन् । जनशक्तिलाई दक्ष बनाउने कुरा एकै पटक गर्न सकिने कुरा पनि होइन् । यस्ता समस्याले गर्दा बजार बढाउन सकिएन् । त्यो नहुने बित्तिकै बजार खाली भयो । खाली भएको ठाउँमा अरु कम्पनीहरु आउनसक्ने अवस्था भइहाल्यो । मैले भनिहालें, पछिल्ला दिनमा आइसकेपछि नयाँ कर्मचारी नियुक्ति गर्ने, नयाँ प्रविधिहरुलाई अपनाउने काम गर्दै गएका छौं । शाखाहरुबाट पनि सेवा दिन थालेपछि ग्राहकको आकर्षण संस्थानमा बढ्दै गएको छ ।

जीवन बीमा क्षेत्रमा नयाँ कम्पनीहरु पनि थपिएका छन् । उनीहरुसँग प्रतिस्पर्धा गरेर काम गर्दाको अनुभव कस्तो छ ?
प्रतिस्पर्धा त्यति धेरै छैन् । मेरो अनुभव कस्तो छ ? भने जहाँ राष्ट्रिय बीमा संस्थान गएको छ, त्यहाँ राम्रो ‘रेस्पोन्स’ पाएका छौं । यद्यपि हामी आक्रामक तरिकाले जान अझै पनि सकेका छैनौं । मार्केटिङ र अरु कारणले पनि हामीलाई आक्रामकरुपमा जान केही कठिनाई भएको छ । त्यसरी जाँदाको अवस्थामा बीमा संस्थान निकै अगाडि पुग्नसक्ने अवस्था छ ।

बोनसलगायतका सुविधाहरुमा संस्थानले त्यति ग्राहकहरुलाई आकर्षित गर्न नसकेको भन्ने पनि देखिन्छ । सुविधा बढाउन सक्ने अवस्था छैन् ?
अरु सबै कम्पनीहरुको भन्दा बीमा संस्थानको कम बोनस होइन् । मैले बोनसको दर हेर्दा पनि के देख्छु ? भने अरु कम्पनीहरुले पनि बीमा संस्थानलाई आधार बनाएर ६५ को वरीपरी नै बोनस दर राखेको देखिन्छ । भलै ‘हामी नयाँ कम्पनी, हामीले धेरै गर्ने हो’ भन्ने कुरा आयो भने पनि आधार चाहीं ६५ लाई राखेर ६६ गरेको छ । कुनै कम्पनीले चाहीं अवधिको आधारमा धेरै गरेको छ । फेरि बोनस दर मात्रै सबैथोक पनि होइन् । कुन बोनस दर लिन ग्राहकले कति प्रिमियम तिरिरहेको छ ? त्यो पनि हेर्नुपर्छ । बोनस दर र प्रिमियमलाई दाँजेर हेर्दा पनि बोनस कति ? भन्ने कुरा तर्कसंगत हुन्छ भन्ने लाग्छ । अर्को कुरा संस्थानका जुनसुकै अवधि र जुनसुकै प्रोडक्टमा बोनस दर समान छ । अरुमा हेर्ने हो भने थोरै अवधिमा थोरै बोनस, कम बिक्री हुने धेरै अवधिकोमा धेरै बोनस दर राखेको देखिन्छ । ‘प्रोपोगाण्डा’ गर्न ‘हाम्रो बोनस दर बढि’ भनेर प्रचार गरिएको हो कि ? जस्तो मलाई लाग्छ । हामी पनि पूरानो लेखापरीक्षण सम्पन्न गरी साधारणसभा गर्नासाथै प्रोडक्ट र अवधिअनुसार नयाँ बोनस दर कायम गरेर जानुपर्छ भन्ने लाग्छ । जान पनि सकिन्छ । बजार जसरी हिँडेको छ, हामी पनि त्यसरी नै हिँड्नुपर्छ । बजारमा ‘तपाईंको बोनस दर कति ? भनेर सोध्न थालेपछि हामीले पनि ३० बर्षको लागि बोनस ८५ रुपियाँ भन्न कुनै अप्ठ्यारो हुँदैन् । त्यो गर्न हामी सक्छौं । पूरानाको काम बाँकी रहेकाले त्यतापट्टि सोच्न नसकेको मात्रै हो ।

Advertisement

Advertisement

Advertisement