को बन्ला अर्थमन्त्री, को बन्छ गभर्नर ?-'केपी ओलीलाई सोध्नुस्'

Advertisement

काठमाठडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० गते सकिँदैछ । यद्यपी उनलाई पुनः राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग छ । राष्ट्रिय सभामा नदोहोरिए पनि अर्काे ६ महिनासम्म अर्थमन्त्री बनिरहन पाउने सुबिधा पनि डा. खतिवडालाई छ । यद्यपी राष्ट्रिय सभाको कार्यकाल फागुन २० गते सकिने भएकाले उनी मन्त्री रहिरहन्छन् वा बाहिरिन्छन् ? भन्ने बहस भने यतिबेला उत्कर्षमा छ ।
उता, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल पनि चैत ५ गतेबाट सकिँदैछ ।

अर्थमन्त्रीको दोहोरिने सम्भावना कायमै रहे पनि गभर्नर डा. नेपालका हकमा भने त्यस्तो कुनै सम्भावना छैन् । अर्थात यतिबेला भावी अर्थमन्त्री र गभर्नरको लिगलिगे दौड उत्कर्षमा पुगेको छ ।

अर्थमन्त्रालयको 'म्याराथन'
प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री बनाएका डा. खतिवडालाई दोहोर्याउने वा बाहिर पठाउने भन्ने कुरा अन्ततः ओलीकै हातमा रहन्छ । शिवमाया तुम्बाहाङफेलाई मन्त्री नियुक्त गर्दा पार्टीमा छलफलको त कुरै छाडौं अर्का अध्यक्ष प्रचण्डले समेत जानकारी नपाएको गुनासो गरिरहेका छन् ।

त्यसो त ओली निकटका थुप्रै नेताहरुले डा. खतिवडाका कारण कार्यकर्ता पंक्ति रुष्ट बनेको र नागरिकसम्म सरकारले लिएका आर्थिक नीतिको प्रतिरक्षा गर्न नसकिएको गुनासो गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने अर्थमन्त्रीको कार्य सम्पादनसँग सन्तुष्ठ रहेको श्रोत बताउँछ । सरकार गठनको २ वर्ष पुगेको अवसरमा ओलीले संसदमा भाषण गर्दा अर्थतन्त्रका अब्बल परिसूचकहरुको सप्रशंग व्याख्या गरेका थिए । अर्थतन्त्रका सबल सूचक सुनाएका ओलीले डा. खतिवडालाई घर पठाउँछन् भनेर विश्वास गरिहाल्ने अवस्था नरहला ।

तर, रक्षा मन्त्री इश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि अर्थमन्त्री बन्ने इच्छा प्रकट गरेको बताइन्छ । पोखरेलले सरकार गठनकै समयमा अर्थमन्त्रालय ताकेका थिए तर ओलीले रक्षा मन्त्रीमा थन्क्याई दिए । यतिबेला पोखरेलले अर्थमन्त्री बन्ने कसरत पुनः दोहोर्याएका छन् ।
ओली क्याम्पमा भने डा. खतिवडाको विकल्पका रुपमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुनेबारे बिमर्श हुने गरेको श्रोत बताउँछ ।

त्यसो त नेकपा महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने सम्भावनालाई पनि नकार्न सकिन्न । तर बालुवाटार काण्डमा मुछिएकाले सरकार थप बदनाम हुने तथा पार्टी महासचिवलाई पार्टी काममा ध्यान दिनुपर्ने भएकाले पनि पौडेलको सम्भावना थोरै रहेको बताइन्छ ।

उता, पूर्व अर्थमन्त्री समेत रहिसकेका सुरेन्द्र पाण्डेले अर्थमन्त्रालयको ढोका चिहाएको २ वर्ष भैसक्यो । नातामा झलनाथ खनाल नजिक, गुटमा माधव नेपाल नजिक र प्रचण्डले समेत विश्वास गरेका पाण्डेलाई अर्थमन्त्री बनाउन केपी ओली बाहेकका सबै शिर्ष नेता सहमत छन् । उनले यसबीचमा ओलीको विश्वास समेत जित्ने प्रयास गरिरहेको उनी निकट श्रोत बताउँछ ।

अर्थतन्त्र र विकासका सम्बन्धमा अन्तराष्ट्रिय निकायहरुले विश्वास गरेका राजनीतिज्ञमा सुरेन्द्र पाण्डेलाई लिइन्छ । पार्टी पंक्तिको अपनत्व हासिल गर्न र दातृ निकायहरुको विश्वास समेत जित्नका लागि पाण्डेलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुने मत पनि बलियो बन्दै गएको छ । अर्काे तर्फ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेँललाई पनि अर्थमन्त्रीको म्याराथनमा समावेश गरिएको छ ।

ओलीलाई एउटा विज्ञको सट्टा अर्काे विज्ञ नै चाहिन्छ भन्ने लागेमा कँडेलको पल्ला भारी हुनेछ ।

राष्ट्र बैंकको 'म्याराथन'
चैत ५ गतेबाट गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिँदैछ । गभर्नर बन्ने दौडमाडे डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, शिबराज श्रेष्ठ, पूर्व डेपुटी गभर्नर समेत रहिसकेका लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र निवर्तमान अर्थ सचिव डा. राजन खनाललाई हेरिएको छ ।

झापाली, पूर्व एमालेको क्याडर र बहालवाला डेपुटी गभर्नर भएकाले पनि चिन्तामणी शिवाकोटीलाई प्रबल दावेदार मानिएको छ । यद्यपी महाप्रसाद अधिकारी पनि केपी ओली र डा. युवराज खतिवडा दुबैले विश्वास गरेका पात्र हुन् । अर्थ सचिव डा. राजन खनाल पनि पछिल्लो समय प्रबल दावेदारका रुपमा उदाएका छन् । उनलाई प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री डा. खतिवडा तिनै जनाले रुचाउँछन् । त्यसो त डा. मिन बहादुर श्रेष्ठले पनि आफुलाई बलियो दावेदारका रुपमा खडा गरेका छन् । पूर्व माओवादी पृष्ठ भूमिका भएपनि उनी प्रति माधव नेपालको समेत सहानुभूति रहेको बताइन्छ ।

गभर्नरको प्रतिष्पर्धामा लागिरेका डेपुटी गभर्नर शिबराज श्रेष्ठ भने छानबिन प्रकरणपछि केहि कमजोर देखिएका छन् । यद्यपी आफु निर्दाेष रहेको प्रमाणित भैसकेकाले गभर्नरको दौडमै रहेको उनले बताईसकेका छन् ।

केपी ओलीलाई सोध्नुस्
अर्थमन्त्रीमा डा. खतिवडाको निरन्तरता वा नयाँ पात्रको आगमन ? वा भावी गभर्नर को बन्छ भन्दै हामीले आधा दर्जन नेकपा नेताहरुसँग बुझ्ने प्रयास गर्यौं ।

तर सबैको एउटै उत्तर थियो–‘त्यसको उत्तर प्रधानमन्त्री केपी ओलीलाई मात्रै थाहा छ, उहाँसँगै सोध्नुस् ।’

पार्टी नेताहरुले यतिबेला पार्टीले सरकार चलाएको भन्दा पनि सरकारले पार्टी चलाएको जस्तो अवस्था निर्माण भएको बताउन थालेका छन् ।

Advertisement

Advertisement

Advertisement