भ्रमण बर्ष २०२० सफल बनाउनुपर्ने बेला राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा नेतृत्वबिहीन

Advertisement

काठमाडौँ । बीस लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण बर्ष २०२० सुरु भएको बेला राष्ट्रिय ध्वजाबहाक वायुसेवा उडाउने नेपाल वायुसेवा निगम नेतृत्व बिहीन बनेको छ ।

निगमबाट दोस्रो पटक पनि असफल भएर मदन खरेर बाहिरिएपछि एक महिनाभन्दा बढि समयदेखि निगम नेतृत्वविहीन छ । पर्यटन क्षेत्रले चाँडै निगमको महाप्रवन्धक नियुक्त गर्न आग्रह गरे पनि सरकारभित्रको खिचातानीले नयाँ नियुक्ति प्रक्रिया लम्बिदै गएको छ । पर्यटन व्यवसायी एवं विज्ञहरु महत्वपूर्ण समयमा निगम नेतृत्वबिहीन हुनु भ्रमण बर्ष सफल पार्ने कुराका लागि मात्रै नभएर समग्र पर्यटन क्षेत्रका लागि उचित नहुने बताउँछन् ।

निगमले आफ्ना सेवा विस्तारका लागि खरिद गरेका दुई वटा वाइडबडी विमानहरु नयाँ गन्तव्यमा उडान गर्ने कुरा पनि नेतृत्वको अभावले अन्योलमा परेको छ । नेपाल होटल संघ (हान)का अध्यक्ष अमर शाक्यले निगममा चाँडै कार्यकारी प्रमुख नियुक्त गर्न आफूहरुले पनि सरकारी पक्षलाई पटक पटक आग्रह गरेको बताउँदै अब चाँडै नियुक्त हुनसक्ने आशा व्यक्त गरे ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित भएको बेला त्यो क्षतिलाई पूर्ति गर्न राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले विकल्पहरु खोज्ने र नयाँ जहाजहरु थप्नुपर्ने बताउँदै त्यसका लागि निगमका अधिकार प्राप्त व्यक्ति चाँडै नियुक्त गर्नुपर्ने उनको भनाई छ । निगमलाई सक्षम र अनुभवी व्यक्तिको खाँचो रहेको भन्दै निगम जति बलियो र प्रभावकारी हुन्छ, त्यति नै नेपालको पर्यटन उद्योग पनि बलियो हुने बताए ।

त्यस्तै, पर्यटन विज्ञ एवं नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले भ्रमण बर्ष मनाइरहेको बेला चीनमा देखा परेको कोरोना भाइरसको असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्न सुरु भएको भन्दै यस्तो चुनौतिपूर्ण बेलामा राज्यको एयरलाइन्स कमजोर हुन नहुने बताउँछन् ।

चिनियाँ पर्यटकहरु घटे पनि निगमले मध्यपूर्वदेखि अन्य मुलुकहरुमा आफ्नो उडान विस्तार गर्नुपर्ने बताउँदै त्यसका लागि चाँदै महाप्रवन्धक नियुक्त गर्नुपर्ने बताए । जोशीले निगमको कार्यकारी प्रमुख नियुक्ति गर्ने कुरामा राजनीतिक खिचातानी भन्दा पनि काम गर्नसक्ने व्यक्तिको जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement