परिसंघले अर्थ सचिव ढुंगानालाई सुनायो उद्योग व्यवसाय क्षेत्रका समस्या

,   ७ फाल्गुन २०७६, बुधबार, ०६:०७ pm   

काठमाडौँ । नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बधाई तथा शुभकामना दिँदै परिसंघको प्रतिनिधि मण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्नु पर्ने, चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितीले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नु पर्ने अवस्था आएको बताए ।

aecc

यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराए ।

छलफलमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मुल्याङ्कन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी गराए ।

यसैगरी चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए । यसैगरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अर्थमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए ।

परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाए । सो छलफलमा परिसंघका अध्यक्ष मोर सहित परिसंघका पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्य उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।