संयुक्त बीमा पोलिसी बेच्न रोक, फ्रड रोक्ने अस्त्र चलाउँदा १०% प्रिमियम चट !

Advertisement

काठमाडौं । बीमा समितिले संयुक्त बीमा पोलिसी बेच्न रोक लगाएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले परिपत्र जारी गर्दै संयुक्त बीमा पोलिसी बेच्न रोक लगाएका हुन् ।

अब एउटै बीमा पोलिसीमा श्रीमान, श्रीमति दुबैको जोखिम बोक्ने जीवन बीमा पोलिसी बिक्रि गर्न पाइने छैन् । ‘बीमा भनेको व्यक्तिगत हुन्छ, यहाँ त अब समुह समुहकै बीमा गराउँने अवस्था देखियो, त्यसैले अब श्रीमान।श्रीमतिको जोखिम समावेश गरिएका पोलिसी बेच्न रोक लगाएका हौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कर्पाेरेट नेपालसँग भने ।

हाल अधिकांश जीवन बीमा कम्पनीहरुले दम्पतिको जोखिम बहन गर्ने बीमा पोलिसी बिक्रि गर्दै आएका छन् । बीमा कम्पनीहरुको कुल बिजनेशमा यस्ता पोलिसीहरुको हिस्सा ५ देखि १० प्रतिशतसम्म रहेको छ ।

समितिले टर्म पोलिसी र आवधिक(इण्डोमेन्ट) दुबैमा संयुक्त जोखिमको व्यवस्था हटाउन भनेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । पहिले देखि नै त्यस्ता पोलिसी बेचिरहेका कम्पनीहरुले अब आफ्नो पोलिसीबाट संयुक्त जोखिम बहन गर्ने व्यवस्था हटाउनुपर्नेछ । श्रीमानको बीमा गर्दा श्रीमतिको जोखिम बोक्ने प्रडक्ट छ भने अब त्यसबाट श्रीमतिको जोखिम बोक्ने सम्बन्धी प्रावधान हटाउनुपर्नेछ । त्यस्तै, श्रीमतिको बीमा गर्दा श्रीमानको जोखिम बोक्ने व्यवस्था रहेको पोलिसीबाट पनि श्रीमानको जोखिम सम्बन्धी व्यवस्था हटाउनुपर्नेछ ।

हाल बिक्रि भैसकेका पोलिसीहरुको हकमा भने पोलिसी परिपक्क नहुञ्जेल त्यस्तो व्यवस्था लागु हुने छैन् । तर कम्पनीहरुले अब पोलिसी बेच्दा भने त्यस्तो व्यवस्था हटाउनुपर्नेछ । नयाँ कम्पनीहरुले पनि आफ्नो पोलिसी बनाउँदा नै संयुक्त जोखिम बहन हुने सम्बन्धि व्यवस्था राख्न पाउने छैनन् ।

बीमा समितिका अध्यक्ष चापागाईँले संसारका कुनै पनि देशमा संयुक्त जोखिम बहन गर्ने पोलिसी नरहेको तथ्यलाई मध्यनजर गर्दै त्यस्तै व्यवस्था लागु गरेको जानकारी दिए । ‘संयुक्त पोलिसी बेच्ने कुराले अपराध बढाउने सम्भावना पनि देखियो, फेरी यस्तो व्यवस्था अरु देशमा पनि रहेनछ, एक्चुरीले पनि जोखिम औल्याईदिए, त्यसैले सुधार गर्यौं’, समितिका अध्यक्ष चापागाईँले भने ।

हाल अधिकांश जीवन बीमा कम्पनीले दम्पतिकै जोखिम बहन हुने गरि बीमा पोलिसी बेचिरहेका थिए ।

Advertisement

Advertisement

Advertisement