लिम्पियाधुरासहितको क्षेत्र नेपालको भएको प्रमाण जनाउने नक्सा मन्त्रीकै कार्यकक्षबाट गायब

Advertisement

काठमाडौं । जनस्तरमा निर्माण गरी मन्त्रीलाई दिएको लिम्पियाधुरा सहितको नक्सा गायब भएका छन्। सीमा बचाउ अभियानअन्तर्गत नक्सा समितिले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा निवारणमन्त्री पद्माकुमारी आर्याल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका मन्त्रीको कार्यकक्षमा नै गएर लिम्पियाधुरासहितको नक्सा दिएका थिए।

लिम्पियाधुरा सहितको त्यो नक्सा तत्कालै मन्त्रीहरूले आफ्नो कार्यकक्षमा टाँगेका थिए। भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेको थियो। त्यसपछि प्रतिरोधमा जनस्तरमा अग्रज पत्रकार भैरव रिसाल संयोजक रहेको सीमा बचाउ अभियानअन्तर्गत नक्सा समितिले लिम्पियाधुरासहित नक्सा सार्वजनिक गरेर वितरण गरिएको थियो। आधुनिक प्रविधिको प्रयोगबाट बनाइएको यो नक्सालाई नापी विभागले आधिकारिक मानेर मन्त्रालयमा पेस गर्नु पर्ने नक्सा समिति आवाज उठाउँदै आएको छ।

भूगोलविद् एवं नक्सा समितिका सदस्य कमलचन्द्र बरालले आफूले दिएको लिम्पियाधुरा सहितको नक्सा दोस्रोपटक जाँदा हटाइसकेको पाइएको बताए। ‘सबै मन्त्रीलाई नक्सा लिएका थियौं’, उनले भने, ‘दोहोर्याएर जाँदा त हटाइसकेको रहेछ।’ उनले कसैको डर वा प्रभावमा मन्त्रीहरूले त्यो नक्सा लुकाएको हुन सक्ने बताए। भूगोलविद् बरालले भारतीय नक्साविरुद्ध नेपालले पनि नक्सा बनाएर त्यसको प्रतिरोध गर्नुपर्नेमा यसरी डराएर कार्यकक्षबाटै हटाउनुले सरकार त्यसमा गम्भीर नरहेको देखिएको जानकारी दिए। भूमि अतिक्रमणविरुद्ध शैन्य (सुरक्षा) प्रतिरोध, प्रशासनिक अतिक्रमणविरुद्ध विकास निर्माण र जनसुरक्षा र कुटनीतिक प्रतिरोध गर्नु पर्ने उनको सुझाव छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement