क्यासिनो सञ्चालकले तिरेनन् ७० करोड बक्यौता, तीन महिनाभित्र नतिरे कारवाहीको चेतावनी

Advertisement

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले लामो समयदेखिको करोडौँ बक्यौता तिर्न अटेर गरेपछि सरकारले बक्यौता तथा रोयल्टी असुलका लागि कदम चाल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयमा क्यासिनो अवस्थाबारे व्यवसायीसँग छलफल गर्दै क्यासिनो सञ्चालनबापत राज्यलाई बुझाउनुपर्ने बक्यौता तथा रोयल्टी तीन महिनाभित्र तिरिसक्न निर्देशन दिएका छन् ।

उनले निर्धारित समयभित्र पनि बक्यौता नबुझाए कारवाहीका लागि बाध्य हुने चेतावनीसमेत दिए । पर्यटनमन्त्री भट्टराईले व्यवसायीलाई प्रोत्साहन गर्ने पक्षमा सरकार रहेपनि व्यवसायीले त्यसलाई कमजोर ठाने व्यवसायबाटै बिमुख हुनुपर्ने अवस्थाप्रति पनि सचेत गराए । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्यासिनोको रोयल्टी रकम नबुझाउने र बक्यौता नतिर्ने क्यासिनोलाई बन्द गर्ने चेतावनी दिए । उनले लामो समयदेखि राज्यलाई तिर्नुपर्ने बक्यौता नबुझाएर व्यवसायीले अटेर गरिरहेको उल्लेख गरे ।

यसैबीच क्यासिनोको अवस्थाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेशगर्ने जिम्मेवारीसहित पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे तथा दुई क्यासिनो व्यवसायी छन् ।

छलफलमा क्यासिनो सञ्चालक तथा मन्त्रालय मातहत निकायका प्रमुखको समेत उपस्थिति थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार क्यासिनोबाट विसं २०७० देखि २०७६ सम्मको रु ७० करोड बाँकी छ ।

त्यस्तै कुमारी चोकमा रु एक अर्ब २५ करोड बक्यौता उठाउन बाँकी छ । बक्यौता उठ्न नसकेपछि विभागले विसं २०७३ मा कुमारी चोकलाई लेखी पठाएको थियो । यो रकम क्यासिनोको जरिवाना र पेनाल्टिसहितको हो । हाल मुलुकभर १५ क्यासिनो सञ्चालनमा छन् । दस वटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् ।

क्यासिनो ह्याप्पीआवर प्रालिले धेरै बक्यौता तिर्न बाँकी छ । चार वटा मिनि क्यासिनो सञ्चालन गरेको यो कम्पनीको होटल स्वीटड्रिम महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काँकडभिट्टामा क्यासिनो छन् ।

त्यस्तै रक इन्टरनेशनल प्रालिबाट बक्यौता बाँकी छ । यसले पनि क्यासिनो र्याडडसहित विभिन्न जिल्लाका पाँच स्थानमा क्यासिनो सञ्चालन गरेको छ । होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काँकडभिट्टामा क्यासिनो सञ्चालन गरेका छन् । गिल्ट इन्भेष्टमेन्ट प्रालिको होटल याक एण्ड यतिमा सञ्चालन गरेको रोयल क्यासिनोले चार वर्षदेखि रोयल्टी रकम बुझाएको छैन ।

त्यस्तै, सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सिएमजी क्लब (मिनी क्यासिनो) ले होटल ओपेरा महेन्द्रनगर, होटल भिष्वा वीरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम काठमाडौँमा गरी चार स्थानमा सञ्चालन गरेको क्लबको समेत बक्यौता रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement