झण्डै ५० हजार काठमाडौं महानगरबासीले पाउँछन् सामाजिक सुरक्षा भत्ता

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ४९ हजार ६८४ जना व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

आर्थिक तथा सामाजिक समस्यामा परेका, लोपोन्मुख तथा आफ्नो ख्याल आफैं गर्न नसक्ने नागरिकको सामाजिक सुरक्षा अधिकार सुनिश्चित गर्न सरकारले उपलब्ध गराइएको भत्ता पाउने व्यक्तिको संख्या हो यो । नगद बितरणमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रमभित्र जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई राखिएको छ ।

यसप्रकारको भत्ता पाउने व्यक्तिमध्ये सबैभन्दा धेरै वडा १६ मा २ हजार ८२७ जना छन् भने दोश्रोमा वडा १४ मा २ हजार ७६१ जना छन् । त्यस्तै तेश्रो धेरै संख्या भएको वडा १५ हो । यस वडामा २ हजार ५२७ जना छन् । सबैभन्दा कम भएको वडा १ हो । यसमा ८१४ जना छन् । दोश्रो कम संख्या भएको वडा वडा २ हो । यस वडामा ८७७ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

काठमाडौं महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४२७ छ । यीमध्ये सबैभन्दा धेरै वडा नं. १४ का १ हजार ८० जना, दोश्रोमा वडा १६ का १ हजार ६२ जना र तेश्रोमा वडा ३ का ९०७ जनाले नागरिकले भत्ता पाउँछन् । यी नागरिकमध्ये वडा १४ का १ हजार ८८, वडा १५ का १०२४ वडा ३१ का ८७३ जनाले उपचार भत्ता पनि लिएका छन् । एकल र बिधवा ७० बर्ष पुगेपछि मासिक भत्तासँगै मासिक उपचार खर्चवापत् १ हजार रुपैयाँ थप हुने भएकोले जेष्ठ नागरिकको संख्या र उपचार रकम लिने व्यक्तिको संख्या फरक भएको हो ।

दलिततर्फ महानगरभरीमा १५० जनाले भत्ता बुझ्दै आएका छन् । यसमा वडा ३१ मा ५४ जना, वडा ३२ मा १९ जना छन् । दलिततर्फ तेश्रो धेरै संख्या भएका वडाहरु ३ र १९ हुन् । यी वडामा क्रमशः १०÷१० जनाले भत्ता पाएका छन् । वडा १, ४, ८, ९, १३, १८, २०, २१, २२, २३, २४, २५ र २७ मा यस शीर्षकमा भत्ता पाउने कोही पनि छैनन् । यो बर्ष महानगरका १० हजार ५९८ जना बिधवाले सामाजिक सुरक्षा भत्ता रकम पाएका छन् । यो संख्यामध्ये सबैभन्दा धेरै वडा ७ का ६५० जना, त्यसपछि १५ का ६१५ जना र तेश्रोमा वडा ६ का ५५८ जना छन् । वडा १ र ४ मा बिधवा भत्ता पाउनेको संख्या शुन्य छ । सामाजिक सुरक्षा भत्ताको अर्को शीर्षक एकल भत्ता पाउनेको संख्या १ हजार ८६ रहेको छ । यीमध्ये वडा ४ मा धेरै छ । त्यसपछि वडा १ र वडा २५ मा छन् । ती वडामा भएका एकलको संख्या क्रमशः ४७०, १७४ र ४१ हो । वडा ९, १८, २०, २३, २९ र ३२ मा एकलको संख्या छैन ।

महानगरभरिमा पूर्ण अपाङ्गको संख्या ५१३ जना छ । यसमध्ये वडा ३ मा सबैभन्दा बढी ३० जना, वडा ३१ मा २८ जना छन् । त्यस्तै वडा ५ र ३२ मा समान २७-२७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् । ३८१ आंशिक अपाङ्ग (अति अशक्त) व्यक्तिमध्ये वडा सबैभन्दा धेरै वडा १६ मा २८ जना, वडा २६ मा २७ जना र वडा १५ मा २४ जना छन् । बालपोषणअन्तर्गत मासिक भत्ता पाउने बालबालिकाको संख्या ८ रहेको छ । यीमध्ये वडा ११ र १२ मा समान ३÷३ जना र वडा २८ मा २ जना छन् । यो भत्ता अभिभावकमध्ये कोही पनि रोजगारमा नरहेका दलित परिबारका बालबालिकालाई दिइने भत्ता हो ।

दलित, एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन् । यो रकममा जेष्ठ नागरिकलाई उपचार खर्चपवापत् मासिक १ हजार रुपैयाँ थप दिइन्छ । भत्ता पाउन साबिक कर्णाली र दलित बर्ग व्यक्ति भए ६० बर्ष पूरा हुनुपर्छ भने अन्य क्षेत्र र समुदायका व्यक्तिले ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत् २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन् । दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् ।

पूर्ण अपाङ् भत्ता मासिक ३०० रुपैयाँ हो भने आंशिक अपाङ्ता भत्ता मासिक १६०० रुपैयाँ हो । १४ जिल्लाका रोजगारबिहिन दलित परिवारका बालबालिकालाई दिइने भत्ता रकम मासिक ४०० रुपैयाँ हो । सरबारबाट प्राप्त हुने यो रकमसँगै काठमाडौ.महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने ७५ बर्ष माथिका महिला र ८० बर्ष माथिका पुरुषलाई बार्षिक १२ हजार रुपैयाँ महानगर बिशेष भत्ता रकम दिने गरिएको छ ।

यसरी प्रदान गरिने भत्ता रकमवापत् महानगरले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ३२ करोड १३ लाख ३८ हजार ९०० सय रुपैयाँ वितरण गरेको लेखा अधिकृत अनिता श्रेष्ठले जानकारी दिनुभयो ।

यसबाहेक बैङ्कमार्फत बित्तीय कारोबार गर्न नसक्ने धेरै मानिसहरु भत्ता पाउने अवसरबाट बञ्चित भएको जनप्रतिनिधिले बताउँदै आएका छन् । अर्कोतिर बैङ्कमा खाता खोल्नेहरुले पैसा प्राप्त गर्ने बिधि पनि सजिलो बनाउनु पर्ने कुरा पनि उठेको छ । महानगरको बित्त बिभाग, सामाजिक बिकास बिभाग, वडा कार्यालय र सेवाग्राहीको खाता रहेको बैङ्क सबैमा सुधारको आवश्यकता छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने भन्छन्– ‘एउटा बैङ्कमा खाता खोलीसकेपछि त्यसलाई निरन्तरता दिइनुपर्छ । अन्यथा पाका उमेरका मासिहरुले दुःख महसुस गर्नुहुन्छ ।’

सामाजिक सुरक्षा व्यवस्थालाई प्रबन्ध गर्न वडा-वडामा छुट्टै संयन्त्र बनाउनु आवश्यक छ । वडा ३० का अध्यक्ष दलबहादुर कार्की अनुभव सुनाउँदै भन्छन्- ‘सामाजिक सुरक्षाको कुरा बुझ्न आउने सेवाग्राहीका कारण अन्य प्रशासनिक काम गर्न नै कठिन भएको छ ।’ अर्कोतिर बैङ्को खाता खोल्न नसक्ने मानिसले सुरक्षा भत्ता पाउन सकेका छैनन् । काठमाडौं महानगरपालिका भित्रै पनि यस्ता व्यक्तिको संख्या धेरै भउको जनप्रतिनिधिको भनाइ छ ।

के बैङ्किङ् कारोबार गर्न नसक्नेले भत्ता नपाउने त ? प्रश्नको उत्तरमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागका निर्देशक जनकराज भट्ट भन्छन्- ‘सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम ‘नगद बितरण’मा आधारित हो । यसरी दिइने नगद बैङ्क खाताबाट मात्र दिइन्छ । सम्बन्धित व्यक्तिकै हातमा पैसा पुगोस् भनेर यसो गरिएको हो ।’

Advertisement

Advertisement

Advertisement