टार्गेट १८८१ प्लस:  सेयर बजारमा के ले गर्दैछ कमाल ?

Advertisement

काठमाडौं । बिहिबार नेप्से परिसूचक २९.३२ अंकले बढेर १४३४.५७ अंकमा पुग्यो । बिहिबार मात्रै होइन, यो हप्ता नेप्से परिसूचक निरन्तर उकालो चढ्यो र कारोबार रकममा पनि उत्साह जनक वृद्धि नै देखियो ।

पाँच दिनको कारोबार अवधीमा नेप्से परिसूचक ८९.९८ प्रतिशतले बढ्न सफल भयो । यो अवधीमा ११ अर्ब १७ करोड मूल्य बराबरका सेयर किनबेच भए ।

आइतबार नेप्से १९.३९ अंकले वृद्धि हुँदा एक अर्ब ९७ करोड मूल्यको सेयर कारोबार भयो । सोमबार पनि परिसूचक ३४.२६ अंकले वृद्धि भयो । यो दिन २ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो ।

मंगलबार १.७७ अंकले मात्रै नेप्से बढ्यो तर कारोबार भने २ अर्ब १२ करोड रुपैयाँको भयो ।
बुधबार ५.२४ अंकले परिसूचक वृद्धि हुँदा एक अर्ब ६२ करोडको सेयर किनबेच भयो ।
बिहिबार परिसूचक २९.३२ अंकले बढ्यो भने २ अर्ब ७८ करोड मूल्यको सेयर किनबेच भयो र कारोबार रकममा नयाँ रेकर्ड नै बन्यो ।

२०७३ साउन १२ गते नेप्से परिसूचकमा इतिहास रेकर्ड भएको थियो । त्यस दिन परिसूचक १८८१.४५ अंक पुगेको थियो जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस दिन २ अर्ब २६ करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो ।

टार्गेट १८८१ ??
यतिबेला सेयर बजार निरन्तर उकालो लागिरहेको छ । त्यसकारण पनि बजारले अब १८८१ बिन्दुको टार्गेट सेट गरेको बताउन थालिएको छ । सेयर बजार बुलिस ट्रेण्डमा देखिएकाले पनि १८८१ नपुगी नरोकिने भविष्य वाणी गर्न थालिएको छ ।

सुधार कायमै रहन्छ
छोटोलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेटर्स फोरम

४ वर्षदेखि बजार निरन्तर घटिरहेको थियो । राम्रा कम्पनीहरुको मूल्य पनि साह्रै न्युन बिन्दुमा आईसकेको थियो । नेप्से ११०५ बिन्दुमा आएर जब अडियो तब लगानीकर्ताले बजार राम्रोसँग होल्ड गरे । कम्पनीहरुको पिइ रेसियो १५ भन्दा कम भए राम्रो भनिन्थ्यो । त्यो बेला त्यस्तो पिई रेसियो ९।१० मा झरेको थियो । नेप्से १८८१ बिन्दुबाट ओरालो लागेर ११०५ मा आईपुग्दा कतिपय लगानीकर्ताले ५० प्रतिशत गुमाईसकेका थिए ।

अहिले दोश्रो त्रैमासिकको रिपोर्ट आएपछि बोनस पचाएर पनि कम्पनीहरुको इपिएस राम्रो देखियो । धितोपत्र बोर्डमा पनि राम्रो नेतृत्व आयो । अर्थमन्त्रीका अभिव्यक्ति पनि राम्रो आउन थाल्यो । कम्पनीहरुका वित्तिय विवरण पनि राम्रा भएकाले बजार उकालो चढ्न थालेको हो । बाहिरिएका लगानीकर्ता पनि फेरी बजारमा भित्रिएका छन् । नयाँ लगानीकर्ता पनि थपिएका छन् । ब्रोकरका कार्यालयमा सेयर किन्ने।बेच्नेहरुको तछाड मछाड छ । बीमा कम्पनी र लघु वित्तका कारण सेयर बजारमा सुधार आएको हो ।

हाम्रो सेयर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको ६० प्रतिशत हिस्सा छ । यीनको बजार सुधार भएको छैन् । यी संस्थाहरुको सेयरमा बढ्दा पुँजी बजार अझै पनि बढ्छ । राम्रा हाइड्रो पावर कम्पनीमा सुधार आउँदा बजार अझै बढ्नेछ ।

लगानीकर्तामा कन्फिडेन्ट बढिरहेको छ
भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर्स एसोसियसन
सेयर बजारले बुलिस ट्रेण्ड समातेको जस्तो देखिन्छ । त्यस्तो हो भने पुरानो रेकर्डहरु नाघ्नेछ । तर अहिले नै त्यस्तो ठोकुवा चाँही नगरौं । निरन्तर ठूलो मात्रामा कारोबार भैरहेको छ, त्यसको अर्थ भनेको बजार प्राकृतिक रुपमा उकालो लाग्ने अवस्थामा छ । कारोबारको आकारले बजार परिपक्क हुँदै गएको संकेत गर्छ ।

यतिबेला पुँजी बजारमा संस्थागत लगानीकर्ता आउँदैछन् । संस्थागत लगानीकर्ता आउँदैछन् भन्ने सन्देश जाँदा पनि बजारमा सकारात्मक प्रभाव परिरहेको छ । लामो समयसम्म बजार ओरालो लागेको थियो तर यतिबेला लगानीकर्तामा कन्फिडेन्ट आएको जस्तो देखिन्छ ।

Advertisement

Advertisement

Advertisement