सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, ९ दिनमै प्रतितोला २१ सय रुपियाँले बढ्यो

Advertisement

काठमाडौँ । फागुन महिना लागेपछिका नौ दिनमा सुनको मूल्य प्रतितोला २१ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार एक सय रुपियाँमा कारोबार भएको छ । फागुन १ गते बिहीबार प्रतितोला ७६ हजारमा कारोबार भएको थियो ।

बिहीबार भन्दा शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपियाँले बढेको हो । विहीबार प्रतितोला ७७ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि दिनदिनै बढ्दो क्रममा रहेको छ । फागुन महिना लागेपछिको ९ दिनमा चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँले बृद्धी भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय १५ रुपियाँमा किनबेच भइरहेको छ । फागुन १ गते भने ८८० रुपियाँ प्रतितोलामा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ७७ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । आजको लागि छापावाल सुनको मूल्य प्रति १० ग्राम ६६ हजार ९ सय ६० रुपियाँ, तेजाबी सुनको प्रति १० ग्राम ६६ हजार ७ सय ५ रुपियाँ र चाँदी प्रति १० ग्राम ७ सय ८४ रुपियाँ ५० पैसा तोकिएको महासंघले जनाएको छ ।

उता फागुन १ गतेको तथ्याङ्क अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपियाँ, प्रति १० ग्रामको ६५ हजार १ सय ६० रुपियाँ, चाँदी प्रतितोला ८ सय ८० रुपियाँ र प्रति १० ग्राम ७ सय ५४ रुपियाँ ५० पैसामा कारोबार भएको थियो ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार चीनमा फैलिएको कोरोना भाइरस संसारभर फैलिएकोले गर्दा आर्थिक क्षेत्रमा असर गरेको बताए । अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा सुधार नभएको र कोरोना भाइसरले आर्थिक क्षेत्रमा पारेको प्रभावका कारण सुनचाँदीको मूल्य बढिरहेको महासचिव बज्राचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement