जोरपाटीको सानो बजार नहटाउन माग, २२ मिटर सडक विस्तारले पार्छ यस्तो प्रभाव

Advertisement

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सानो बजार व्यवासायी समूहले सम्झौता विपरीत व्यवसाय गर्न पाउने अधिकारबाट वञ्चित नगराउन माग गरेको छ ।

समूहको प्रतिनिधमण्डलले नगर प्रमुख सन्तोष चालिसेलाई भेटी जोरपाटी सुन्दरीजल सडकखण्ड विस्तार र नगरपालिकाद्वारा प्रस्तावित बहुउद्देश्यीय भवन निर्माणका लागि सानो बजार खाली गराउने सम्बन्धमा नगरपालिकाले जारी गरेको सूचना सम्झौता विपरीत भएको भन्दै विरोध जनाएको हो ।

सम्झौता कार्यान्वयनलगायत विषयमा फागुन ५ गते दिएको ज्ञापनपत्र पनि नगरपालिकाले बेवास्ता गरेको भन्दै समूहले माग सम्बोधनका लागि आज फेरि ध्यानाकर्षण गराएको हो । समूहका अध्यक्ष बद्रीप्रसाद खतिवडाले ज्ञापनपत्रको सुनुवाइ नभएको बताउनुहुँदै बजार सार्नुअघि उचित वैकल्पिक व्यवस्थाबिना नै बजार खाली गराउने सूचना आएको भन्दै आपत्ति जनाए ।

व्यवसायीले सडक विस्तारका क्रममा पर्ने पसल हटाउन शुरु गरिसकेको जानकारी गराउँदै नगर प्रमुख चालिसेलाई बहुउद्देश्यीय भवन निर्माणका लागि भने सबै पसल तत्काल खाली गर्न नसकिने जानकारी गराएको थियो ।

समूहसँगको भेटमा नगर प्रमुख चालिसेले आजै नगरपालिकाका तर्फबाट अर्को सूचना जारी गरी बजार खाली गर्नको लागि पुनः म्याद थप गर्ने प्रतिबद्धता जनाए । फागुन ११ गते व्यवसायीसँग छलफल गरी वैकल्पिक व्यवस्थासहितको बहुउद्देश्यीय भवन निर्माणपछि पुनःस्थापनाको सुनिश्चितताका लागि आफू लिखित प्रतिबद्धता गर्न तयार रहेको आश्वासन दिएको समूहका सचिव विष्णु ढकालले जानकारी दिए ।

नगरपालिकाले फागुन २ गते एक हप्ताको समयसीमा तोकेर बजार खाली गर्न सूचना जारी गरेको थियो । फागुन ९ गते बेलुकासम्ममा सबै बजार खाली गर्न निर्देशन दिँदै बजार खाली नगरे फागुन १० गते नगरपालिकाले नै बजार खाली गराउने सूचना प्रकाशित गरेको थियो । गत भदौ ११ गते नगरपालिका र समूहबीच २०७७ असार मसान्तसम्म बजार राख्न दिने सम्झौता भएको थियो ।

बजार खाली गर्नुभन्दा तीन महिना अगावै नगरपालिकाले जानकारी गराउनुपर्ने बुँदा पनि सम्झौतामा उल्लेख छ । बजारमा १६० पसल छन् । बजारमा कपडा, जुत्ता चप्पल, कस्मेटिक, ब्याग, इलोक्ट्रोनिक्स सामानलगायत पसल छन् । बजार चलाएबापत साविकको जोरपाटी गाविस हुँदै हालको गोकर्णेश्वर नगरपालिकालाई मासिक भाडा बुझाउँदै आएको समूहले जनाएको छ । २२ मिटर सडक विस्तारका क्रममा सानो बजारका थुप्रै पसल पर्ने भएपछि नगरपालिकाद्वारा प्रस्तावित भूमिगत पार्किङसहितको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण हुनेमा भने नगरवासी नै विश्वस्त हुनसकेका छैनन् ।

जोरपाटी चोकसँगैको सार्वजनिक जग्गामा बजार बनाइ विसं २०५८ मा गाविसले भाडामा लगाएको थियो । बजार बनाउँदा वरिपरिबाट मिचिएको सार्वजनिक जग्गा संरक्षणमा सहयोग पुगेको थियो । रासस

Advertisement

Advertisement

Advertisement