मन्त्रिमण्डल पुर्नगठनको बहसः सुवाश नेम्बाङ र महेश बस्नेत चर्चामा, खतिवडा के होलान् ?

Advertisement

काठमाडौं । सेक्युरीटी प्रेस खरिदमा कमिसन काण्ड लागेपछि प्रधानमन्त्रीका विश्वास पात्र गोकुल बास्कोटाले राजीनामा दिएपछि २ वटा मन्त्रालय खाली भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयको दोहोरो जिम्मेवारी सम्हालिरहेका बास्कोटा घर फर्किएसँगै यी दुबै मन्त्रालय खाली भएका हुन् । यद्यपी अहिलेका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले सम्मालिरहेका छन् ।

यसैबीच फागुन २० गते अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल पनि सकिँदैछ । यहिबचीमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई सरकारमा ल्याउनेबारे पनि बहस भैरहेको छ । वातावारण बनेमा सरकारमा सहभागीताबारे सोच्न सकिने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नै भनिसकेका छन् । राजपा सरकारमा सहभागी भएको खण्डमा दुई वटा मन्त्रालय उसलाई दिने सम्भावना रहन्छ । अन्यथा अहिले खाली रहेका मन्त्रालयहरुमा नयाँ मन्त्री नियुक्त हुनेछन् ।

गोकुल बास्कोटाले हात धुनु परेको सञ्चार मन्त्रालयमा पूर्व सभामुख सुभाषचन्दै नेम्बाङलाई ल्याउने तयारी भैरहेको नेकपा श्रोतले बतायो । थोरै बोल्ने र सबैलाई रिझाउने प्रयास गर्ने पूर्व सभामुख नेम्बाङलाई उप प्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । नेम्बाङलाई अघि सारेर सरकारकै छवि सुधार्ने र सञ्चार क्षेत्रसँगको सम्बन्धलाई पनि सुधार गर्नुपर्ने निष्कर्षमा ओली पुगेको श्रोत बताउँछ ।

उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी भने महेश बस्नेतलाई दिने तयारी भएको छ । अहिले सो मन्त्रालय सम्हालिरहेका बसन्त नेम्बाङलाई भने शहरी विकास मन्त्रालयको जिम्मेवारीमा पठाइनेछ ।

आफ्ना निकटका कार्यकर्ताहरुको संरक्षणमा बिशेष ध्यान दिने ओलीले महेश बस्नेतको राजनीतिक उचाई थप बढाउनका लागि भौतिक मन्त्रालयमा पठाएर सुधारका काम गराउने योजना बनाएको श्रोत बताउँछ ।

ओलीले पार्टी भित्रको आन्तरिक गठजोड मिलाउन पनि बस्नेतलाई खटाउने गरेका छन् । बरिष्ठ नेता माधव नेपालको तेश्रो वरियता खोस्ने, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने तथा ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने पछिल्लो कामको नेतृत्व पनि बस्नेतले नै गरेका थिए । यतिबेला पार्टीभित्र अल्पमतमा परेर असुरक्षा महशुस गरिरहेका ओलीले पुनः उनै बस्नेतलाई अघि सारेर माधव नेपालसँगको दुरी घटाउने प्रयास पनि गरिरहेका छन् ।

डा. खतिवडाको भविष्य
फागुन २० गते राष्ट्रिय सभाको कार्यकाल सकिन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि थपिदिएका छन् । सञ्चार मन्त्रालयको जिम्मेवारी थपिएको सन्दर्भलाई हेर्ने हो भने डा. खतिवडा प्रति ओलीको विश्वासमा कुनै कमि नआएको बुझ्न सकिन्छ ।

२० गते घर जाने मन्त्रीलाई अर्काे जिम्मेवारी दिनु नपर्ने हो भन्ने कोणबाट पनि चर्चा सुरु भएको छ । त्यसो त बास्कोटा घर गएपछि ओलीले आफुलाई रक्षात्मक महशुस गरिरहेका छन् । त्यस्तो अवस्थामा मन्त्रिमण्डलमा रहेका आफ्ना अर्का विश्वास पात्र डा. खतिवडालाई पनि घर पठाउँदा अर्काे आफ्नो मान्छे सेट गर्न नसकिने निष्कर्षमा ओली पुगेको श्रोत बताउँछ । डा. खतिवडालाई बिदा गरेपछि उनको ठाउँमा आफ्ना मान्छे ल्याउन नसकिने हो की भन्ने सोचेर पनि ओलीले डा. खतिवडालाई घर नपठाउने निष्कर्षमा नेकपाको ठूलो टोली पुगेको छ ।

राष्ट्रिय सभामा कसलाई मनोनयन गर्ने भन्ने छलफल पार्टी सचिवालयमा भयो भने ओलीले आफ्ना मान्छेको नाम निर्णय गराउन सक्ने अवस्था छैन् । त्यसकारण पनि ओलीले डा. खतिवडालाई खुरुक्क मन्त्रीमण्डलबाट सिफारिस गरेर राष्ट्रपति कहाँ पठाउने र स्वीकृत गराएपछि अर्थमन्त्रीमा निरन्तरता दिलाउन सक्ने बताइन्छ । आफ्नै गृह जिल्ला झापाका अर्थमन्त्री डा. खतिवडालाई ओलीले निकै विश्वास गरिरहेका छन् । डा. खतिवडा नेतृत्वको अर्थमन्त्रालयले लिएको नीतिका कारण विकासका थुप्रै कामहरु सन्तोषजक रुपमा अघि बढेको र अर्थतन्त्रका परिसूचकहरुमा पनि व्यापक सुधार आएको ओलीले नै बताउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement