‘नेपाली बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लान्छौँ’: बीमा संस्थानका प्रशासक पाठक(फोटो फिचर)

Advertisement

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले आम नागरिक समक्ष बीमाको पहुँच पुर्याउने उद्देश्यले बिधार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरेको बताएका छन् ।

बीमा संस्थानको ५३ औ वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रशासक पाठकले यस्तो कुरा बताएका हुन् । ग्राहकको माग बमोजिम पुरक करारको रुपमा दोहोरो दुर्घटना लाभ(एडीबी) लाई बृद्धी गरी ५० लाख पुर्याइएको र घातक रोग सुबिधा स्वीकृतिको लागि पठाएको समेत पाटकले बताए ।

गतवर्षदेखि नेपाल सरकारका निजामति कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सार्वजनिक विद्यालयका शिक्षकको जीवन बीमा संस्थानबाट शुरु गरिएको उनले बताए । साथै ठूला सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सामुहिक जीवन बीमा तथा अभिकर्ताको माध्यमबाट आएका व्यक्तिगत बीमा गर्ने गरिएको छ । साथै बीमा समितिको निर्देशन बमोजिम लघुबीम कार्यक्रम सञ्चालन गर्न कार्यबिधि तयार गरिसकिएकोले तत्कालै कार्यान्वयन गरिने बताए ।

चालु आवको प्रथम अर्ध वार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुके जीवन बीमा कोषमा २ खर्ब ६५ अर्ब ७१ करोड जम्मा भएको मध्ये संस्थानको कोषमा २६ अर्ब ९५ करोड रहेको प्रशासक पाठकले बताए । यस अवधिमा संकलित बीमा शुल्क ४७ अर्ब ६ करोड मध्ये संस्थानको ५ अर्ब ६९ करोड रहेको छ । यसरी हेर्दा कूल बीमा कोष र बीमा शुल्क संकलनमा संस्थाको हिस्सा क्रमशः १० र १२ प्रतिशत रहेको उनले जानकारी दिए ।

संस्थानमा कूल बीमालेख संख्या ६ लाख ८९ हजार रहेको बताउँदै प्रशासक पाठकले नेपाली बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लाने बताए । हाल १४ वटा शाखा कार्यालय रहेकोमा १० शाखा थप गरी २४ वटा पुर्याइने समेत उनले बताए ।

‘संस्थानमा चालु रहेको सफ्टवेयरलाई विस्थापित गरी यसै आर्थिक वर्षबाट वेव वेस्ड सफ्टवेयर सञ्चालनमा ल्याइएको छ । नयाँ व्यवसाय मात्र नयाँ सफ्टवेयरबाट सञ्चालन गरिएकोमा यही आब भित्र सबै डाटा म्याग्रेशन गरी एकीकृत रुपमा सञ्चालन गरिने प्रशासन पाठनले बताए । संस्थानको सेवालाई भरपर्दो, गुणस्तरीय र अझ सहज बनाउन मोबाइल एप तथा एसएमएस सेवाको शुरुवात गर्नुका साथै संस्थानको वेवसाइट थप व्यवस्थित गरिएको छ’–प्रशासक पाठकले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य र बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ सहित अन्य प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यमा सम्पन्न वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।















Advertisement

Advertisement

Advertisement