‘सेयर बजारमा ‘ब्लडी बुसिल’, यस्तो बेला नयाँ लगानीकर्ताले हौसियर लगानी गर्न हुन्न’

Advertisement

काठमाडौं । सेयर विश्लेषक छोटेलाल रौनियारले आइतबार सेयर बजारमा देखिएको उच्च वृद्धिलाई ‘ब्लडी बुलिस’ भन्दै यो वृद्धिलाई अस्वाभाविकरुपमा लिन नहुने बताएका छन् ।

उनी भन्छन्– विशेषगरी बाणिज्य बैंकहरुको सेयर धेरै लामो समयदेखि ‘अण्डर प्राइस’मा थियो । १५–२० बर्ष पूराना बैंकहरुको सेयर दुई सयको हाराहारीमा हुनुभनेको अण्डर प्राइस हो । अब एक्चुअल प्राइसमा आउन लागेको देखिएको छ ।

रौनियारका अनुसार हरेक सुचकहरु राम्रो रहेका, नाफा मुनाफा दिएका र सम्पत्ति पनि निकै धेरै भइसकेका बैंकहरुको सेयर न्यून मूल्यमा लामो समयदेखि कायम रहेकाले बढ्नुको विकल्प थिएन भन्दै विकास बैंक र जलविद्युत समूहका थुप्रै सेयरहरु पनि अण्डर प्राइसमै रहेकाले त्यसमा पनि सुधार आउने आशा व्यक्त गरे ।

आज सेयर बजार परिसुचक नेप्से झण्डै ७० अंकले बढेर एक हजार पाँच सय पार गरेको छ भने तीन अर्ब ६० करोड रुपियाँको किनबेच भएको छ । आज नेप्सेमा प्रतिमिनेट डेढ करोड रुपियाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जमा स्टक ब्रोकर र लगानीकर्ताहरुको भीड नै लागेको थियो ।

रौनियारका अनुसार बाणिज्य बैंकहरुको सेयर भनेको अरुभन्दा बढि दिगो पनि हुन्छ । अहिलेसम्म बीमा र लघुवित्त क्षेत्रका कम्पनीहरुको सेयरमा वृद्धि देखिँदै आएकोमा बाणिज्य बैंकतर्फ एनआईसी एसिया र एनएमबिबाहेक बाँकी न्यून मूल्यमा रहेकोमा आज त्यसमा केही सुधार आएको हो । ‘धेरै बढेको जस्तो देखियो, तर यो नेगेटिभ होइन्, यसलाई म स्वाभाविकरुपमा लिन्छु, मैले यसअघि पनि भन्दै आएको थिए कि बाणिज्य बैंकहरुको सेयर अण्डर प्राइस भइरहेको छ’, उनले भने ।

जलविद्युततर्फ चिलिमे, सान्जेन जस्ता केही कम्पनी पनि अण्डर प्राइस भइरहेको भन्दै यिनीहरुमा पनि सुधार आउने रौनियारको अनुमान छ । तर सेयर बजार यही गतिले बढ्नु पनि राम्रो नभएको उनले स्वीकार गरे । रौनियारले भने, ‘आज जसरी सानादेखि ठूला लगानीकर्ताहरु लाइनमा बसेर समेत सेयर किन्न नपाउने अवस्था देखियो, यसलाई सकारात्मकरुपमा लिनुपर्छ । तर सेयर बजार दिगो र स्थिर ढंगले बढ्नुपर्छ । विशेषगरी नयाँ लगानीकर्ताहरुले हौसियर लगानी गर्नु हुँदैन् । कम्पनी हेरेर राम्रा कम्पनीहरुमा लगानी गर्ने हो भने दाल भात खानलाई सेयर बजारबाट समस्या हुँदैन् ।

Advertisement

Advertisement

Advertisement