सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई, पुरस्कार पायो ६ लाख रुपियाँ

Advertisement

भद्रपुर । तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ ।

शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आइत्बार भएको फाइनल खेलमा थ्री स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेता थ्री स्टारले रु ३ लाखमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद रु १० हजार पाए । त्यस्तै, प्रतियोगिताका म्यान अफ दी टुर्नामेन्ट थ्री स्टारका कप्तान विक्रम लामा भए । उनले नगद रु ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्री स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद रु २५ हजार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्री स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही रु २० हजार पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद रु २० हजार प्रदान गरियो ।

उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमेश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए । यही फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगिताको आइतबार फाइनल भएको हो ।

Advertisement

Advertisement

Advertisement