ओलीको जन्मदिनमा काटिएको नेपाल आकृतिको केकप्रति सामाजिक सञ्जालमा व्यापक विरोध

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा आइतबार तेह्रथुमको आठराईमा काटिएको नेपालको आकृतिको केकप्रति सामाजिक सञ्जालमा जनताले व्यापक विरोध भएको छ ।

विशेष कार्यक्रमका साथ राजर्षी शैलीमा जन्मोत्सव मनाएको ओलीले नेपालको नक्सा आकारको १५ किलोको केक काटेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा जनताले नेपालको नक्साको आकारको केक बनाउन लगाएर काट्ने कुरा प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा बसेको महत्वपूर्ण व्यक्तिबाट हुनु गलत भएको भन्दै यसलाई राष्ट्रियताको मुद्दासँग जोडेर ओलीको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो ६९औं जन्मोत्सव मनाउन हेलिकप्टर लिएर तेह्रथुम पुगेका थिए । सरकारी निवासमा केक काटेपछि दलबलसहित पुख्यौली घर आठराई पुगेका उनले करिव छ हजारलाई भोजसमेत खुवाएका थिए । देशको कानुनका साथै आफ्नै पार्टीले आफ्ना नेता कार्यकर्ताको लागि बनाएको आचार संहितलाई उल्लङघन गर्दै वृहतरुपमा जन्मोत्सव मनाएका ओलीले ‘ह्याप्पी बर्थडे’ लेखेको नेपालको नक्सा आकारको विशाल केक चक्कुले काटेका थिए ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन स्थानीय गाउँपालिकाले सार्वजनिक बिदासमेत घोषणा गरेको थियो । जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्नुपर्ने, तडकभडक र फजुल खर्च गर्न नपाइने कुरालाई बेवास्ता गर्दै ओलीले आफ्ना दजनौं नेता, सयौं कार्यकर्ता र स्थानीयलाई भेला गराएर भोजसहितको कार्यक्रम सम्पन्न गरेका थिए । आठराई जाँदा उनले यती समूहका अध्यक्ष लाक्पा शेर्पा, समूहको एजेन्ट सीताराम सापकोटालाई समेत सँगै लगेका थिए ।

कार्यक्रमलाई भव्य बनाउन गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट ओसार्ने काम गरिएको थियो भने प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो । नेकपाको स्थानीय कमिटीले दुई तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली श्रीमती राधिकालाई लिएर सेनाको हेलिकप्टरमा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अर्को हेलिकप्टरमा कार्यक्रमस्थल पुगेका थिए ।

तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको पैत्रिक जन्म घर पुगेका थिए  । प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा दुई सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement