पाँच अर्ब ६० करोड खर्चेर ७५ लाख नेपालीको निःशुल्क स्वास्थ्य बीमा गर्दै सरकार

Advertisement

काठमाडौं । सरकारले ७५ लाख नेपालीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सरकारले निरपेक्ष गरिबीको रेखामुनी रहेका १६ लाख परिवारका ७५ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यस्तो बीमा कार्यक्रम ल्याउन लागिएको बताएका हुन् । सरकारले ३५ सय रुपियाँमा ५ जनाको परिवारलाई २ लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा दिईरहेको छ । त्यस्तो प्रिमियम तिर्न नसक्ने गरिबहरुका लागि भने सरकारले नै प्रिमियम तिर्न लागेको हो ।

‘चरम गरिबीमा रहेका परिवारहरुले बीमाको प्रिमियम तिर्न नसक्ने अवस्था छ । म यहिँबाट घोषणा गरिदिन्छु की चरम गरिबीको चपेटामा रहेका साढे १६ लाख परिवार छन् । ३५ सय रुपैयाँमा परिवारकै बीमा गरिदिने र २ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ, निरपेक्ष गरिबीको रेखा मुनी रहेका साढे १६ लाख परिवारका ७५ लाख नागरिकको प्रिमियम सरकारले तिरिदिन्छ’, खतिवडाले भने ।

प्रति परिवार ३५ सय रुपियाँका करले प्रिमियम तिर्दा सरकारले १६ लाख परिवारका लागि सरकारले बार्षिक ५ अर्ब ६० करोड रुपियाँ तिर्नुपर्नेछ । सरकारले पशु तथा बाली धन बीमा लगायतका सेवामा ७५ प्रतिशत अनुदान दिए वापत गत वर्ष मात्रै २ अर्ब प्रिमियम तिरेको पनि खतिवडाले जानकारी दिए ।

निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराएर त्यस्तो रेखाबाट माथी ल्याउन सघाउने अभियान स्वरुप कार्यक्रम अघि सारिएको पनि बताए ।

‘गरिबीको रेखामुनी रहेको परिवार रोगहरुका कारण उपचारका नाममा थला परिरहन्छ र गरिबीबाट माथी आउन सक्दैनन् । हामीले गर्ने बीमाहरुले गरिबीबाट माथी आउने सुनिश्चितता गरिनुपर्छ’ खतिवडाले भने ।

उनले स्वास्थ्य बीमा बोर्डको संरचनालाई बदल्ने तयारी भैरहेको पनि जानकारी दिए । ‘बीमाका सबै स्किमहरु सञ्चालन गर्ने जीवन बीमा कम्पनीहरुले नै हो । नियामक र प्रवद्र्धकहरुले संयोजन, प्रवद्र्धन गरिदिने मात्रै हो । अब बोर्डको संरचना र कार्यशैली पनि परिमार्जन गर्छाै’, अर्थमन्त्री खतिवडाले भने ।

Advertisement

Advertisement

Advertisement