भारत आएर ट्रम्पले गरे मोदीको प्रसंशा, भारत र अमेरिकाबीच ठूलो व्यापार ‘डिल’ हुने

Advertisement

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएका छन् । अहमदाबादको मोटेरा रंगशालामा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाषण गर्दै ट्रम्पले अमेरिका र भारतबीच स्वाभाविक र स्थायी मित्रता रहेको बताए ।

उनले अमेरिकासँग भारतको विशेष सम्वन्ध रहेको भन्दै अमेरिका सधैं भारतको निष्ठावान मित्र रहने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गर्दै लामो भाषण गरेका ट्रम्पले मोदी एक अद्भुत नेता भएको बताए । मोदीले भारतका लागि दिनरात काम गरिरहेको भन्दै एक चिया पसलमा काम गर्दै भारतको प्रधानमन्त्रीसम्म पुगेको कुरासमेत कोट्याए ।

रंगशालामा सहभागी हजारौं भारतीय अगाडि ट्रम्पले अर्को बर्ष भारतमा गरिव धेरै घट्ने दावी गर्दै भने, ‘पछिल्लो सात दशकमा भारतको उचाइ उल्लेखनीय छ । पछिल्लो दुई दशकको गति असाधारण छ । भारतका जनता बाँकी विश्वका लागि प्रेरणा हुन् ।’

ट्रम्पले भारतको छिमेकी पाकिस्तानसँगको सम्बन्ध र आतंकवादी गतिविधि रोक्न अमेरिका र भारतको सहकार्य बढ्ने बताउँदै आर्थिक सम्वन्ध विस्तारका लागि भारतसँग अमेरिकाले ठूलो व्यापार डिल गर्ने पनि बताए । आफ्नो प्रशासनले आतंकवादसँग लड्ने विषयमा पाकिस्तानसँग सफलतापूर्वक काम गरिरहेको बताउँदै उनले यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतको नेतृत्वदायी भूमिका रहने बताए ।

ट्रम्प दुई दिने भ्रमणका लागि श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाइँसँगै भारत आएका हुन् । मोटेरा रंगशालामा सम्बोधन गर्नुअघि ट्रम्प र उनकी पत्नी मेलानियाले साबरमती आश्रम पुगेर चर्खा चलाएका थिए । उक्त आश्रममा महात्मा गान्धी रहेका थिए । अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका ट्रम्पलाई स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका थिए । दुवै नेताले अंकमाल गर्दै मित्रता देखाएका थिए भने भारतीय प्रधानमन्त्री मोदी धेरै खुशी र उद्धेलित देखिन्थे ।

Advertisement

Advertisement

Advertisement