एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गरिने

Advertisement

हेटौँडा । वाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उनको भनार्इ छ । त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उनको भनार्इ छ ।

प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउँछन । प्रधानमन्त्री केपी ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम शुरु गरिने जानकारी दिए ।

मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको उल्लेख गरे । चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने उनले बताए । पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उनको भनार्इ थियो ।

“हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् ।

आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग (सुरुङ) बनाइएको थियो ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानी लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किन्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

नेपालको पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

चुरिया सुरुङ, हेटौँडा–काठमाडौँ रोपवे, धरहरा, शीतल निवास र घण्टाघरको पुनःनिर्माण, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण आदि महत्वपूर्ण निर्माण गरेका इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइन्छ ।

नौ फिट चौडाइ र १० फिट उचाइ भएको यो सुरुङको लम्बाइ भने ६०० मिटरको रहेको थियो हाल एकापट्टीको भाग भत्किएर करिब १०० मिटर जति पुरिएको जनाइएको छ । त्रिभुवन राजपथको सञ्चालनपछि विसं २०१८ देखि सुरुङमार्गको प्रयोग हुन छोडेको स्थानीय अग्रज बताउँछन् । विसं २०१३ मा आफू ललितपुरबाट भारत जाँदा बाइरोडको बाटो हुँदै चुरियाको सुरुङमार्ग छिरेर गएको सम्झन्छन मकवानपुरगढी गाउँपालिकाका ८३ वर्षीया भीमप्रसाद घिमिरे । घिमिरेका अनुसार बाइरोडको विस्तार पछि सुरुङमार्गको प्रयोग नभए पनि ०४५ सालसम्म पैदल आवतजावत गर्न मिल्नेगरी दुवैतर्फ प्वाल थियो ।

विसं ०४५ को भूकम्पपछि भने एकतर्फको प्वाल टालियो । त्यसपछि भने गोठालाको ओत लाग्ने ठाउँका रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको घुमफिर गर्ने स्थानका रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । त्यसपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ ।

प्रदेश सरकार गठन भएपछि भने यो सुरुङमार्गले चर्चा पाउन थालेको छ । यसको जीर्णोद्धार गर्न भन्दै प्राविधिकबाट पटकपटक निरीक्षण भएर अध्ययन थालिएको जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङमार्गका डिजाइनर इञ्जिनीयर थापाको शालिक निर्माण गर्ने भएको छ । सुरुङको मुखै नजिक थापाको अर्धकदको शालिक बनाउने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । ऐतिहासिक सुरुङमार्गको विकास र संरक्षणमा उपमहानगर लाग्ने उपमहानगरपालिकाका सामाजिक क्षेत्र हेर्ने अधिकृत रामकृष्ण थापाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement