सगरमाथा आरोहणः पाँच दिनमा शिखरमा पुगेर विश्व कीर्तिमान राख्ने दौडमा होमिए चार शेर्पा

Advertisement

काठमाडौँ । सगरमाथाको शिखर चुम्नु आफैँमा साहसिक र जोखिमपूर्ण काम हो । मौसमी हिसाबले वसन्त ऋतु (सर्वाधिक सगरमाथा आरोहण हुने समय) र शरद् ऋतु मिहाल आरोहणका लागि उपयुक्त मानिन्छ ।

साहसिक आरोहण त्यसमा पनि शिशिर ऋतु अर्थात् ‘विन्टर सिजन’ मा सगरमाथाको आरोहण गर्नु कम चुनौतीपूर्ण छैन । बहादुर शेर्पाको अदम्य साहस र मेहेनतलाई चुनौतीका शिखरले छेक्न सक्दैनन् । तिनै चुनौतीलाई चिर्दै सगरमाथाको विश्व कीर्तिमान बनाउन हिम्मती आरोहीले अठोट गरेका छन् ।

चार शेर्पा पाँच दिनमा सगरमाथाको सफल आरोहण गरी विश्व कीतिर्मानको दौडमा होमिएका हुन् । आठ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका आरोही टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङ्तेम्बा शेर्पा, पासाङनर्बु शेर्पा र हालुङ्दोर्ची शेर्पासहितको आरोहण टोली नयाँ कीर्तिमानका लागि सगरमाथातर्फ लागेको हो ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथाको २४ पटक सफल आरोहण गरेर कामीरिता शेर्पाले विश्व कीर्तिमान बनाए । सगरमाथा आरोहण इतिहासको झण्डै सात दशकका अवधिमा विभिन्न कीर्तिमान थपिँदै गएको छ । विनाअक्सिजन आरोहण, सबैभन्दा छोटो अवधिमा आरोहणजस्ता विभिन्न अभिलेख छन् । नयाँ कीर्तिमान पनि थपिँदै छन् ।

यो आरोहण नेपालको मात्र नभई विश्वकै रेकर्डमा सबैभन्दा छोटो समय अर्थात् ‘विन्टर स्पिड क्लाइम्बिङ’ हुने जनाइएको छ । आरोहणलाई ‘ब्रेथलेस वीन्टर एभरेष्ट स्पिड क्लाइम्बिङ एक्सट्रिम अन एभरेष्ट इन फाइभ डेजः दिस इज द गिनिज बुक अफ वल्ड रेकर्डस एटेम्ड् एक्सिपीडिसन’ नाम दिइएको छ ।

चार शेर्पाको यो आरोहणलाई अन्य हिमाल आरोहीले चासोका साथ हेरेका छन् । एउटै जिल्ला सङ्खुवासभा र एउटै गाउँपालिका मकालुका उनीहरु सबै प्रख्यात आरोही हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै विश्वका आरोहीको ध्यान नेपालतिर खिच्न यस आरोहणले मद्दत पुग्ने आरोही टासीलाक्पा शेर्पाको भनाइ छ । आरोहणमा लामो अनुभव रहेको र पूर्ण तयारी गरिएकाले पनि यो आरोहण सफल हुने उनीहरुको विश्वास छ ।

“म आफैँ सगरमाथाको आठ पटक सफल आरोहण गरेको र विश्वका अन्य अग्ला हिमालको पनि आरोहण गरिसकेको आरोही हुँ, त्यसैले आरोहणलाई कसरी सुरक्षित र व्यवस्थित गर्नुपर्छ भन्ने बुझेको छु, अन्य साथीहरु पनि अनुभवी भएकाले आरोहण सफल हुनेमा विश्वस्त छौँ”, उनले भने ।

टासिलाक्पाले १९ वर्षको उमेरमा सगरमाथाको बिना अक्सीजन सफल आरोहण गरी कीर्तिमान बनाउनुभएको थियो । आरोही टोलीका अर्का सदस्य ३० वर्षीय हालुङ्दोर्चीले सगरमाथा चार पटक र आठ हजार मिटरभन्दा माथिका आठ हिमालको आरोहण गरिसकेका छन् । अर्का २६ वर्षीय आरोही पासाङ नर्बुले सगरमाथाको दुई पटक र आठ हजार मिटरभन्दा अग्ला पाँच हिमालको आरोहण गरेका छन् ।

त्यस्तै २८ वर्षीय मिङ्तेम्बा शेर्पाले सगरमाथाको दुई पटक र आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरिसक्नुभएको थियो । यसपटक सगरमाथाको नयाँ कीर्तिमान बनाएरै फर्कने उनको अठोट छ । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार यस याममा सगरमाथा आरोहणका लागि तीन आरोही समूह गएका छन् । जसमा एक नेपाली र दुई विदेशी छन् । अघिल्लो वर्ष पनि दुई आरोही समूहले आरोहण अनुमति लिए पनि सफल भएका थिएनन् ।

विश्वमा बिरलै रुपमा यस्तो आरोहण हुने गरेको छ । सगरमाथाको वीन्टर सिजनमा सन् १९८० मा र सन् १९९३ मा विदेशीले झण्डै दुई महिना लगाएर सगरमाथा आरोहण गरेको पाइन्छ । नेपाली चार जनाको टोलीले भने यसपटक पाँच दिनमै सगरमाथाको चुचुरामा पुगेर विश्व कीर्तिमान राख्ने सङ्कल्प गरेका छन् ।

त्यसमा पनि हिमाल आरोहणका टोली नेता टासिलाक्पाको भने यो अफ सिजनमा विनाअक्सिजन सगरमाथाको आरोहण गरेर अर्को नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य छ । आरोही टोलीले यही फागुन १७ गते सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने योजना बनाएको छ । उनीहरु सोमबारै सगरमाथातिर लागेका छन् ।

आरोहीलाई संयुक्त पत्रकार सम्मेलन गरी बिदाइ गरिएको थियो । सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० भन्दा बढीको निधन भइसकेको बताइन्छ । कामिरितापछि हालसम्म आप्पा शेर्पा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङ्दोर्जी शेर्पा, छेवाङ्ङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागको विवरणमा सन् २०१९ को वसन्तकालीन मौसममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कीर्तिमानको नाममा ज्यानै जोखिम हुने र विश्वमा नकारात्मक सन्देश जाने भएकाले कीर्तिमानभन्दा पनि सफल र सुरक्षित आरोहणलाई ध्यान दिन सरोकार भएकाहरुले सुझाएका छन् ।

नेपाल भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर सकारात्मक सन्देश दिनु ठूलो कुरा भएकाले कीर्तिमान भन्दा सुरक्षित आरोहणलाई ध्यान दिन आग्रह गरे । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले नेपालको पर्यटन साहसिक गतिविधिको पर्यायवाची भएकाले सगरमाथा आरोहणको कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले आरोहणमा शेर्पा समुदायको भूमिकाले नेपालको शिर उच्च बनाएको उल्लेख गरे । कीर्तिमानी आरोही कामिरिताले भ्रमण वर्षका सन्दर्भमा नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभर प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement