सेयर बजारमा उत्साहजनक सुधार जारी, नेप्से ४३ अंकले बढ्दा झण्डै तीन अर्बको कारोबार

Advertisement

काठमाडौं । सेयर बजार फेरि लयमा फर्किएको छ । सोमबार सामान्य गिरावट देखिएको सेयर बजारमा मंगलबार उच्च वृद्धि भएको छ । आज सेयर बजार परिसुचक नेप्से ४३ अंकभन्दा बढिले बढेर एक हजार ५४५ कायम भएको छ । कारोबार सुरु भएको एक घण्टापछि २५ अंकले बढेको नेप्से पछि क्रमसः सुधार आएको थियो ।

आज सेयर कारोबारमा भने केही कमी आएको छ । सोमबार तीन अर्ब १६ करोडको कारोबार भएको सेयर बजारमा आज दुई अर्ब ९९ करोड रुपियाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालय डिष्ट्रिलरी लिमिटेड छ । उसको १६ करोड ३३ लाख रुपियाँको कारोबार भएको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३६ लाख रुपियाँको कारोबार भएको छ ।

समूहगत कारोबार हेर्दा बाणिज्य बैंक समूहको सुचक एक प्रतिशतले मात्रै बढेको छ भने बाँकी अधिकांश समूहका सुचकहरुको वृद्धि उत्साहजनक देखिन्छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सुचक सात दशमलव ७८ प्रतिशतले बढेको छ । अन्य समूहको सुचक छ दशमलव ७७ प्रतिशतले बढेको छ ।

त्यस्तै, व्यापार समूहको सुचक चार दशमलव ९९ प्रतिशत, जलविद्युत समूहको चार दशमलव ३४ प्रतिशत, निर्जीवन बीमा समूहको सुचक चार दशमलव ३७ प्रतिशत, उत्पादनमूलक समूहको सुचक तीन दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी समूहका सुचकहरुमा सामान्य वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement