वायुसेवा निगमलाई कम्पनीकरण गर्ने निर्णय फिर्ता नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी

,   १३ फाल्गुन २०७६, मंगलवार, ०५:४३ pm   
nac

काठमाडौं । नेपाल वायसेवा निगमलाई कम्पनीकरण गर्ने सञ्चालक समितिको निर्णयप्रति निगमको आधिकारिक कर्मचारी युनियनले विरोध जनाएको छ ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ को भावना र मर्मविपरित समितिले आफ्नो क्षेत्राधिकार नाघेर निगमलाई कम्पनीको रुपमा सञ्चालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको भन्दै उक्त निर्णयप्रति खेद जनाएको छ ।

निगम सञ्चालक समितिले यही गएको फागुन ८ गते यस्तो निर्णय गरेको थियो । निगमलाई कम्पनीको रुपमा सञ्चालन गर्ने कुराको निगमका कर्मचारी र कर्मचारी युनियनहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका थिए ।

aecc

पर्यटन मन्त्रालयमा योगेश भट्टराई आएपछि उनले पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा अध्ययन समिति बनाएर कम्पनीकरण गर्ने र विदेशी लगानीसमेत भित्राउने सुझाव दिलाउन लगाएका थिए । निगमको आधिकारिक युनियनले सञ्चालक समितिको निर्णय अदूरदर्शी र पूर्ण सरकारी स्वामित्वको संस्थालाई निजीकरण गर्ने बदनियतले आएको भन्दै यसलाई आफूहरुले स्वीकार गर्न नसक्ने जनाएको छ ।

यस विषयमा विगतमा कम्पनीकरण र निजीकरण गरिएका संस्थाहरुको हालत र हाल नेपाल वायुसेवा निगमको आर्थिक अवस्थालाई समेत मध्यनगर गर्न आग्रह गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनले कम्पनीकरणले समस्या समाधान हुनुको सट्टा निगमलाई थप धरासायी बनाउने र अन्तिममा विघटन गराउने औंल्याएको छ ।

सरकारको पुँजी वृद्धि, व्यवस्थापन करार वा रणनीतिक साझेदार जस्ता विकल्पमार्फत निगमको व्यवस्थापकीय सुधार तथा व्यवसायिक क्षमता वृद्धि गर्नु नै आजको आवश्यकता हो भन्दै युनियनले निगमका कर्मचारी र युनियनसँग परामर्श नगरी सञ्चालक समितिले गरेको निर्णय खारेज गर्न माग गरेको छ ।

आफूहरुको माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन आफूहरु बाध्य हुने भन्दै युनियनले आफ्नो विज्ञप्तिमा यसबाट उत्पन्न परिस्थितिको जिम्मा निगम सञ्चालक समिति र व्यवस्थापनले लिनुपर्ने बताएको छ ।