नेपाल ट्रष्टको सरकारी जग्गा यती समूहलाई दिनेमा ओली मात्रै होइन्, प्रचण्ड र देउवा पनि संलग्न

Advertisement

काठमाडौं । गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ ।

गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई गोकर्णको लिज हस्तान्तरण गर्दा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम थिए भन्ने श्वेतपत्रमा उल्लेख छ ।

त्यस्तै, ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लगाउने प्रस्ताव स्वीकृत हुँदा ट्रस्टको संरक्षकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष रहेको श्वेतपत्रमा उल्लेख छ ।

दरबारमार्गको जग्गा लिजमा लिन बोलपत्र प्रस्तावमा भाग लिएका ६ फर्ममध्ये बढी बोलकबोल गर्ने यती समूहको थामसेर्कु प्रालिको प्रस्ताव ट्रस्टको सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ । ५ वैशाख ०७४ को बैठकले दरबारमार्गको जग्गा एक अर्ब ४० करोडमा ३० वर्षका लागि थामसेर्कुलाई लिजमा दिने निर्णय गरेको थियो ।

त्यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला नै संरक्षक र वामदेव गौतम सञ्चालक समिति अध्यक्ष हुँदा २८ साउन ०७१ को बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा लिज आउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको पनि श्वेतपत्रमा उल्लेख छ ।

शेरबहादुर देउवा ट्रस्टको संरक्षक र जनार्दन शर्मा सञ्चालक समिति अध्यक्ष हुँदा काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टी आउटर कम्प्लेक्सको कित्ता नं. १८, १९ र २० को लिज सम्झौता भएको पनि श्वेतपत्रमा समेटिएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दिएको काठमाडौंको १७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्टको कार्यालयले माग गरेको छ । ट्रस्टको कार्यालयले नेपाल ट्रस्ट ऐन, २०६४ को कानुनी व्यवस्था प्रतिकूल हुने गरी मोही कायम भएका ती जग्गा पूर्ववत् अवस्थामा कार्यालयकै नाममा कायम गर्नुपर्ने माग गरेको हो ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement