मिर्गौला रोगीको उपचारका लागि काठमाडौँ महानगरले दियो सैनिक अस्पताललाई डेढ करोड

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मिर्गौला रोगीको उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीलाई रु एक करोड ५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मंगलबार आयोजना भएको कार्यक्रममा कामपाको प्रमुख विद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकम प्रदान गरे । यसको लागि गत पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको सिफारिसमा हेमोडाइलासिस सेवा शुरु भइसकेको छ ।

रकम हस्तान्तरणपछि प्रमुख शाक्यले यस कार्यलाई निरन्तर अघि बढाइने भन्दै जटिल खालको रोगका लागि विशेष उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरी उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लगिने बताए ।

महानगरका अनुसार सेवा विस्तार गर्न आवश्यक पूर्वाधार, मेशिन तथा उपकरण र जनशक्तिसम्बन्धी नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप रु एक करोड ५० लाख उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।

महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ । सम्झौताबमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा महानगरकातर्फबाट शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य सदस्यसचिव छन् ।

त्यस्तै नेपाली सेनाकातर्फबाट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी नगेन्द्रकुमार केसी र महासेनानी डा अजय राजभण्डारी सदस्य छन् । यो कार्यदलले सम्झौताबमोजिमका काम प्रभावकारी रुपमा गर्न र गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुवै पक्षसमक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने गर्नेछ । सम्झौता बमोजिम मिर्गौलाका बिरामीका लागि ‘हेमोडाइलासिस’ सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा, आपत्कालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ ।

Advertisement

Advertisement

Advertisement