युवराजको यात्रामा ‘बामदेव बबण्डर’: साउनसम्म डा.सापलाई ढुक्क

Advertisement

काठमाडौं । ‘जब जब बामदेव गौतम पार्टीमा हावी हुन्छन्, तब तब पार्टी संकटमा पुग्छ’, भन्ने उक्ति पूर्व एमाले वृतमा उहिल्यै देखि स्थापित छ । २०५१ सालमा पनि बिधानमै नभएको उप महासचिव पद सृजना गरेर गौतमलाई पार्टी कामको जिम्मेवारी दिईएको थियो । त्यसकै आडमा उनले शक्ति आर्जन गरे, अन्ततः पार्टी विभाजनसम्म पुग्यो ।

२०६२/२०६३ सालको आन्दोलनपछि गौतमलाई ‘ज्यान एमालेमा मन माओवादीसँग’ भन्ने आरोप एमाले नेता कार्यकर्ता नै लगाउँथे । उनी माओवादीमा प्रवेश गर्न लागेको हल्ला पटक पटक चलिरह्यो । उनी प्रचण्ड सरकारमा उप प्रधान तथा गृहमन्त्री पनि बन्न भ्याए । त्यसकै आडमा बुटवल महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित भए ।

माधव नेपाल सरकारका बिरुद्ध गौतम कै अगुवाईमा हस्ताक्षर अभियान नै चलाईयो ।
२०७० सालको निर्वाचनपछि बनेको शुशिल कोइराला सरकारमा पनि उनी उप प्रधान तथा गृहमन्त्री बनिछाडे ।

२०७४ सालको निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि गौतमको राजनीति समाप्त भएको आँकलन गरिएको थियो तर उनी थप शक्तिसहित उदाए । पार्टीको सबै भन्दा शक्तिशाली मानिएको संगठन विभागको जिम्मेवारी त थियो नै । त्यसमा पनि बिधान नै संसोधन गरेर उनलाई पार्टी उपाध्यक्ष बनाईयो ।

अब संबिधान नै संसोधन गरेर प्रधानमन्त्री बनाउने तयारी सुरु भएको छ । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संबिधान संसोधन गरेर प्रधानमन्त्री बन्ने उनको उत्कट चाहना देखिन्छ ।

यद्यपी प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बन्दै गएको संकेत देखिएपछि गौतम यतिबेला उप प्रधानसहित अर्थ मन्त्रालयमै भए पनि जान चाहेको नेकपा श्रोत बताउँछ । गौतमलाई यतिबेला प्रधानमन्त्री केपी ओलीदेखि प्रचण्ड हुँदै माधव नेपालसम्मले आफ्नो नजिक ल्याउन चाहिरहेका छन् । गौतम भने जताबाट बढी लाभको पद पाइन्छ, त्यतै जान तयार देखिन्छन् ।

ओलीले गौतमलाई आफुबाट टाढा जान नदिनका लागि उप प्रधानसहित अर्थ वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन सक्ने श्रोत बताउँछ । ‘गौतमलाई उप प्रधानसहित रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार देखिनुहुन्छ, गौतमको सिग्नल कुरिएको अवस्था हो’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।

यतिबेला भावी अर्थमन्त्री को बन्ने बहस केन्द्रमा छ । एकाथरी नेकपा नेताहरु बामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेपनि साउनसम्म डा. खतिवडा नै अर्थमन्त्री बन्ने बताउँछन् । ‘जसले जे भनेपनि साउनसम्म खतिवडालाई हटाउने छाँटकाट छैन्, उहाँलाई जिम्मेवारी थपिएको थपिएकै छ, उहाँको कामबाट प्रधानमन्त्री सन्तुुष्ठ रहेको देखिन्छ’, नेकपा श्रोतले भन्यो ।

फेरी बबण्डर
बामदेव गौतम शक्तिमा पुग्दा ‘अन्टसन्ट’ गर्छन भन्ने भयले यतिबेला नेकपा पंक्तिमा तरंग ल्याएको छ । उनलाई राष्ट्रिय सभामा लगेर संबिधान संसोधन मार्फत प्रधानमन्त्री बनाउने कुराले नेकपा नेता, कार्यकर्ता मात्रै होइन, आम नागरिकस्तरबाटै पनि व्यापक बिरोध भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement