एक र एक जोडेर दुई होइन् ११ बनाउने संकल्पसहित चन्द्र ढकालको उम्मेदवारी घोषणा (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि महासंघका हालका उपाध्यक्ष चन्द्र ढकालले औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार याक एण्ड यति होटलमा विशेष कार्यक्रम गरी उनले आफ्नो महासंघको आसन्न नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् । यही आउँदो चैत २९ गते हुने निर्वाचनमा विजयी हुने वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । ढकालको प्रतिस्पर्धीमा महासंघका अर्का उपाध्यक्ष किशोर प्रधान देखिएका छन् । किशोरलाई महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको समर्थन छ ।

ढकालको आजको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वउपाध्यक्षद्धय चण्डिराज ढकाल, सुरेज वैद्य सहभागी थिए । वैद्य भने कामविशेषले भन्दै कार्यक्रमको बीचमै बाहिरिएका थिए चण्डि खुलेरै चन्द्रलाई जिताउन लागेका छन् । महासंघभित्र दह्रो पकड बनाएर बसेका चण्डि ढकालको साथका कारण चन्द्र ढकाल आफू विजयी हुनेमा आशावादी देखिन्छन् ।

त्यति मात्रै नभएर यसअघि पशुपति मुरारका नेतृत्वको समूहनजिक रहेका ज्योत्सना श्रेष्ठ, कमला श्रेष्ठ, उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठलगायतका व्यवसायीलाई पनि चन्द्र ढकालले आफ्नो पक्षमा ल्याउन सफल भएको देखिएको छ भने शशिकान्त अग्रवाल, सुमित केडियालगायतका मारवाडी समुदायका प्रतिनिधिले पनि उनलाई साथ दिएका छन् । यद्यपि जिल्ला नगरबाट आफूलाई निकै राम्रो सहयोग आउने आशा लिएका किशोरको पक्षमा पछिल्लो समयमा मारवाडी समुदायको बढी सहयोग हुने देखिन्छ ।

ढकाललाई ६० भन्दा बढि जिल्ला तथा नगरको समर्थन रहेको दावी गरिएको छ । कार्यक्रममा जिल्ला तथा प्रदेशका प्रमुखहरुसहित विभिन्न व्यवसायीहरुले ढकाललाई शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै ढकालले व्यवसायीहरुको इच्छाअनुसार नै आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको भन्दै एक एक जोडेर दुई होइ्न, एघार बनाउने संकल्न गरे । राज्य र निजी क्षेत्रको साझेदारीको साझेदारीको कुरा उठाएका उनले सरकारसँग मिलेर नै निजी क्षेत्रका समस्या समाधान गर्न आफू अग्रसर हुने बताए ।

वामपन्थी पृष्टभूमिका ढकाललाई वर्तमान सरकारको समेत साथ रहने उनले अघि सारेका नारा र अभिव्यक्तिबाट देख्न सकिन्छ । ढकालले सरकार निजी क्षेत्रमैत्री भए पनि सरकारी संयन्त्र परम्परागत झन्झटपूर्ण रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने, करका समस्याहरु समाधान गर्नुपर्ने, साना व्यवसायीको हितलाई समेत केन्द्रमा राखेर महासंघले काम गर्नुपर्ने, मुलुकको आर्थिक विकास र विदेशी लगानी प्रवद्र्धनका लागि ठूला व्यवसायीहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने, औद्योगिकीकरणका लागि राज्यले पूर्वाधार विकास, विद्युतीकरण, जग्गाको उपलब्धतामा हुने समस्याको निराकरण गर्नुपर्ने जस्ता कुरा उठाएका थिए ।

राष्ट्रिय बाणिज्य बैंकमा सहायकस्तरको जागिर करिव पाँच बर्ष खाएपछि व्यवसायमा लागेका ढकाल छिट्टै प्रगति गर्ने व्यवसायका रुपमा चिनिन्छन् । आईएमई नामक कम्पनीमार्फत विदेशमा काम गर्न गएका नेपालीहरुले कमाएको विप्रेषण नेपाल भित्राउने व्यवसाय गरेर राम्रो प्रगति हासिल गरेका उनले आफ्नो प्रगतिको श्रेय पनि त्यसैलाई दिएका छन् ।

पछिल्लो समयमा बैंकिङ, बीमा, जलविद्युत, डीटीएच, केवलकार जस्ता थुप्रै क्षेत्रमा लगानी विस्तार गरेका ढकाललाई अर्को प्रतिस्पर्धी किशोर प्रधानले कडा चुनौति दिने देखिएको छ ।





















Advertisement

Advertisement

Advertisement