विमानस्थलको अध्यागमनबाट ५८ जना विद्यार्थी फर्काइएको प्रति इक्यानको ध्यानाकर्षण

Advertisement

काठमाडौं । उच्च शिक्षाका लागि अध्ययन गर्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा ५८ जना विद्यार्थी फर्काइएको प्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको स्पष्ट भएको उल्लेख गरेका छन् । सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन ईक्यान जोडदार माग गर्दछ– विज्ञप्तिमा उल्लेख छ ।

ईक्यानले नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष बारम्बार यस सम्बन्धि आग्रह गर्दै आए पनि कतैबाट सुनुवाई नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको जनाएको छ । शिक्षा मन्त्रालयले ध्यान नदिँदा केही दलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रष्ट हुन्छ ।

अतः यस्ता गलत क्रियाकलाप रोक्न शिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई यथाशक्य अनलाइन प्रणालीमा लैजान र सम्बन्धित परामर्शदाता वा निवेदकको विवरण समेत समावेश गर्न इक्यानको माग छ । त्यसको परीक्षणका लागि अध्यागमन विभाग समेतका सम्बन्धित नियमनकारी निकायहरुको सहज पहुँच हुन अनलाइन प्रणाली विकास होस्–इक्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement