अर्थमन्त्री बन्न छ भाईको कसरत, ओलीले रोज्न पाउँछन् की पार्टीले छान्छ ?

Advertisement

काठमाडौं । ‘अन्तिम समयमा कुरा बिग्रियो, अब कमरेड अर्थमन्त्री बन्ने सम्भावना सकियो, अहिलेलाई रक्षा मन्त्री पक्का’, २०७४ साल फागुन १४ गते इश्वर पोखरेलको सचिवालयका एक सहयोगीले भनेका थिए ।

प्रधानमन्त्री ओली आफ्नो कोर टिमसँग बसेर बालुवाटारमा मन्त्रीहरुको सूचि तयार गर्दै थिए । अन्तिम समयसम्म तत्कालिन एमालेका महासचिव रहेका इश्वर पोखरेल अर्थमन्त्री कुरा थियो । तर अन्तिममा बाजी मारे डा. युवराज खतिवडाले ।

यतिबेला खतिवडा घर जाने पक्का भएको छ । अब खतिवडालाई विस्थापन गरेर अर्थमन्त्रालयको बाघडोर कसले सम्हाल्छ भन्ने चासो बढेको छ । उनी इश्वर पोखरेल पनि अर्थमन्त्री बन्ने चाहनामा छन् । त्यसो त परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउनुपर्ने दबाव पनि ओलीसम्म पुगेको छ । एकिकृत नेकपाका महासचिव बिष्णु पौडेल पनि अर्थमन्त्रीका अर्का दावेदार हुन् । तर बालुवाटार काण्डमा मुछिएको तथा पार्टीको जिम्मेवारी समेत उनकै काँधमा भएको पौडेलको सम्भावना अलि कम रहेको बताइन्छ ।

प्रधानमन्त्री बनाउने सर्तमा मात्रै राष्ट्रिय सभामा जाने अडानमा रहेका उपाध्यक्ष बामदेव गौतमलाई पनि रोजेको मन्त्रालय दिने प्रतिवद्धता गरिएको श्रोत बताउँछ । त्यस्तो अवस्थामा गौतमले उप प्रधानसहित अर्थमन्त्रालय पनि माग्न सक्ने बताइन्छ । त्यस्तो अवस्था आएमा गौतम पनि अर्थमन्त्री बन सक्छन् । गौतमले भौतिक मन्त्रालय मागेको खण्डमा भने उनलाई त्यता पठाएर बसन्त नेम्बाङलाई शहरी विकास मन्त्रालयमा पठाउने विकल्प पनि नेकपासँग छ ।

उता, राष्ट्रिय सभा सदस्य बनेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने तयारीमा छन् । उनले पनि अर्थमन्त्रालयको जिम्मेवारीमा आँखा लगाएको बताइन्छ । त्यसो त उनी परराष्ट्र मन्त्रालय पाए पनि सरकारमा जान तयार देखिन्छन् ।

उता, अर्थ मन्त्रीका सदावहार दावेदार हुन सुरेन्द्र पाण्डे । माधव नेपाल प्रधानमन्त्री हुँदा सफल ढंगले अर्थ मन्त्रालय चलाएको अनुभव उनीसँग छ । उनी नेकपा भित्र दातृ निकायहरुलाई समेत विश्वासमा लिन सक्ने आर्थिक कुटनीती बुझेका राजनीतिज्ञ हुन् । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकहरुले बामपन्थी कित्तामा पाण्डेलाई विश्वास गर्छन् । उनलाई ‘प्राक्टिकल पोलिटिकल इकोनोमी’ बुझेको व्यक्ति पनि मानिन्छ ।

यीनै छ भाईमध्ये एक जनाले अर्थ मन्त्रालयको कमाण्ड पाउने सम्भावना रहेको छ ।  तर, रक्षा मन्त्री इश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि अर्थमन्त्री बन्ने इच्छा प्रकट गरेको बताइन्छ । पोखरेलले सरकार गठनकै समयमा अर्थमन्त्रालय ताकेका थिए तर ओलीले रक्षा मन्त्रीमा थन्क्याई दिए । यतिबेला पोखरेलले अर्थमन्त्री बन्ने कसरत पुनः दोहोर्याएका छन् । ओली क्याम्पमा भने डा. खतिवडाको विकल्पका रुपमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुनेबारे बिमर्श हुने गरेको श्रोत बताउँछ ।

त्यसो त नेकपा महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने सम्भावनालाई पनि नकार्न सकिन्न । तर बालुवाटार काण्डमा मुछिएकाले सरकार थप बदनाम हुने तथा पार्टी महासचिवलाई पार्टी काममा ध्यान दिनुपर्ने भएकाले पनि पौडेलको सम्भावना थोरै रहेको बताइन्छ । उता, पूर्व अर्थमन्त्री समेत रहिसकेका सुरेन्द्र पाण्डेले अर्थमन्त्रालयको ढोका चिहाएको २ वर्ष भैसक्यो ।

नातामा झलनाथ खनाल नजिक, गुटमा माधव नेपाल नजिक र प्रचण्डले समेत विश्वास गरेका पाण्डेलाई अर्थमन्त्री बनाउन केपी ओली बाहेकका सबै शिर्ष नेता सहमत छन् । उनले यसबीचमा ओलीको विश्वास समेत जित्ने प्रयास गरिरहेको उनी निकट श्रोत बताउँछ ।

यसपाली ओलीलाई आफुखुसी मन्त्री छान्न नदिने रणनीतिमा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालहरु देखिन्छन् । ओलीले डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाएर अर्थमन्त्री दोहोर्याउन चाहेका थिए । त्यसको सुइको पाएर प्रचण्ड माधव नेपालहहरुले सचिवालय बैठकबाट बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गराएका हुन् ।

मन्त्री मण्डल नै पुनर्गठनको तयारी
त्यसो त यतिबेला सञ्चार तथा सूचना प्रविधी मन्त्रालय र शहरी विकास मन्त्रालय खाली छ । सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले सम्हालिरहेका छन् ।
फागुन २० गतेबाट अर्थ मन्त्री समेत बाहिरिए भने ३ वटा मन्त्रालय खाली हुनेछ । त्यस्तो अवस्थामा मन्त्री मण्डलमा नयाँ मान्छे पठाउने कुरा निश्चित जस्तै छ । त्यसो त यतिबेला राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)लाई पनि सरकारमा ल्याउने तयारी भैरहेको छ । राजपा सरकारमा नआएमा नेकपाबाटै नयाँ मन्त्रीहरु नियुक्त हुनेछन् । अन्य केहि मन्त्रीहरुलाई घर पठाएर नयाँ अनुहारलाई ससर्त जिम्मेवारी दिने सम्भावना पनि रहेको छ । त्यसका लागि पूर्व सभामुख सुभाष नेम्बाङ, बिरोध खतिवडा, महेश बस्नेत, कल्याणी खड्का, यज्ञराज सुनुवारहरु मन्त्री बन्ने प्रयासमा छन् ।

Advertisement

Advertisement

Advertisement