ओलीले कि पार्टीको निर्णय मानेर वामदेवलाई साँसद बनाउनुपर्छ, होइन् भने पार्टी छोड्नुपर्छः खनाल

Advertisement

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ‘ब्याक’ भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ ?

बाहिर के आयो मलाई केही थाहा छैन । तर, म यति भन्छु– पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमति राख्नुभएको थियो कि थिएन ?

अहँ, राख्नुभएको थिएन । उहाँले पनि समर्थन गर्नुभएको हो । सर्वसम्मत निर्णय भएको हो ।

गौतमको नाम कसले प्रस्ताव गरेको हो त ?

हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ ।

प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ ?

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने सदस्यको संख्या थप्ने विषयमा प्रधानमन्त्रीले कुनै प्रस्ताव राख्नुभएको थियो ?

संविधान संशोधन गरेर नौजना सदस्य मनोनीत गर्ने व्यवस्था गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको थियो । तर, बैठकले अस्वीकार गर्‍यो । संविधान संशोधनका लागि प्रस्तावित कार्यदल नै निष्क्रिय भइसकेपछि अब त्यो प्रसंगमा छलफल गर्नुको अर्थ रहेन ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement