मन्त्री भन्छिन्- लिम्पियाधुरासहितको नेपालको नक्सा बनाइसक्यौं, सार्वजनिक गर्न मात्रै बाँकी हो

Advertisement

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो ।

नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् । ‘हामी हाम्रो भूमि छोड्दैनौं त्यसैले मिचिएका सबै भूमिलाई समेटेर नयाँ नक्सा तयार पारिसकेका छौं,’ मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले नया नक्सा छिट्टै सार्वजनिक गरी नक्सालाई देशव्यापी बनाइने बताइन् ।

प्रधानमन्त्री केपी ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि नै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कूटनीतिक पहल थालिएको बताउँदै आएका छन् । सरकारले तयार पारेको सो नक्सालाई संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय तथा विद्यालयमा पठाउने तयारी गरिएको छ ।

यसअघि संघीय संसद्का राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो । सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा सोही क्षेत्रमा नै पर्छ । तर, विगतका सरकारले ती भूभाग समेटेर नयाँ नक्सा बनाउन सकेका थिएनन् ।

भारतले केही समयअघि जारी गरेको नयाँ नक्सामा नेपालका ती भूभाग समेटिए भन्दै नेपालमा त्यसको कडा विरोध हुँदै आइरहेको छ । नेपालका सीमाविद्ले भारतले नयाँ नक्सा जारी गरेकाले नेपालले पनि आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरी भारतीय पक्षलाई जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement