केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण, घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नु पर्ने

Advertisement

रुकुमपूर्व । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम ९पूर्व०का प्रमुख युवराज रावतले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिम मुसिकोट नगरपालिका घोरखानीदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म ११ केभिएको प्रसारण लाइनको पोल गाडने, तार जोडने, स्टेक राख्ने, ट्रान्सफर्मर जडान गर्नेलगायतका सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले विद्युत्को परीक्षण गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका वडा नं ५ र ६ का लागि दुई ठाउँमा ५०-५० केभिएको ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले वडा नं ५ का लागि कमलदहको मूल गेट नजिकै र वडा नं ६ का लागि ट्राफिक चोक नजिकै ट्रान्सफर्मर जडान गरेको प्रमुख रावतले बताए । उनका अनुसार कमलदहमा राखेको ट्रान्सफर्मरबाट वडा नं ५ को चिउरेनी, कमलदह, बाहुनठाना, चोकबजार, टाकुरालगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ ।

यसैगरी ट्राफिक चोकमा राखेको ट्रान्सफर्मरबाट छिप्रिदह बजार, बाहुनडेरा, ढकालबारा, पाखागाउँलगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ । रुकुमकोट उपत्यकाभरि २०४५ सालमा जडान गरेका पोल र तारबाट विद्युत् विस्तार गर्ने गरी काम भइरहेकोे छ भने पोल तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । अबदेखि घोरखानीदेखि रुकुमकोटसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र आफ्ना बालबालिका तथा पशुचौपायालाई जथाभावी नछोड्न पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्को सफल परीक्षण गरिएको भए पनि घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नुपर्ने देखिएको छ । विद्युतको सफल परीक्षण गरिएको भए पनि सबै प्रक्रिया अझै नपुगेकाले घरघरमा बत्ती बाल्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement